विराटनगर । विराटनगर महानगरपालिका–३ बाढी तथा डुबान प्रकोपस्तरीकरणमा सूचिकृत छैन । तर, वर्षेनी वर्षात्को मौसममा विराटनगर–३ कन्चनबारीस्थित राजबंशीटोल र यससँग जोडिएका आसपासका दुईसय घरपरिवार प्रभावित बन्दछन् । हरेक वर्ष वर्षात्को पानी डम्पिङ हुने क्षेत्रको रुपमा परिचित बनेको यस टोलका स्थानीयले दिर्घकालिन समाधानका लागि विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीसँग शुक्रबार आग्रह गरेका छन् ।
गत मंगलबार राती र बुधबार बिहान परेको पानीले राजबंशी टोृल र आसपासका दुईघर परिवार प्रभावित बनेका छन् । यतिसम्मकी बुधबार दिउँसोदेखि पानी परेको छैन । तर, राजबंशी टोलको पानीको निकास नहुँदा अहिलेसम्म त्यहाँका ८० वटा घर डुबानमै रहेका छन् । वर्षात्को प्रारम्भकै डुबान प्रभावित बनेका स्थानीयले शुक्रबार विराटनगर महानगरपालिकासँगै आफ्ना गुनासो राखेका हुन् । वडास्तरको योजनाले समस्या समाधान गर्न नसक्ने भएपछि महानगरपालिकास्तरीय योजनामा समेट्न उपप्रमुख कार्कीसँग स्थानीयले छलफल गरेर आफ्ना समस्या सुनाएका छन् । टोल संगठनका सचिव बसन्त घिमिरेको नेतृत्वमा उपप्रमुखसँग गरिएको छलफलपछि प्राविधिकलाई स्थलगत अध्ययन गरेर लागत तयार पार्न निर्देशन दिइएको छ । उपप्रमुख कार्कीले दिर्घकालिन समस्या समाधानका लागि योजना तयार पारेर बजेटमा समेट्ने आश्वासन समेत दिएकी छिन् । विराटनगर महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष बासुबहादुर बस्नेत र महानगरपालिकाका इन्जिनियर सुजनराज श्रेष्ठलाई तत्काल स्थलगत अध्ययन गरेर समस्या पहिचान गर्न निर्देशन समेत दिइएको थियो ।
निर्देशनपछि वडा अध्यक्षको नेतृत्वमा प्राविधिकसहितको टोलिले राजबंशी टोलको पानीको निकासका लागि दुई विकल्पलाई प्राथमिकतामा राख्ने निष्कर्ष निकालेको छ । जसमा पहिलो विकल्प राजबंशीको झरिलाल राजबंशीको घरदेखि पदमबिनोद घिमिरेको घरसम्म सडकको केन्द्रभागमा आरसीसी ड्रेन निर्माण गरेर पानीको निकास कन्चनमार्गको नालामा ल्याउने । कन्चनमार्गको नाला उच्च रहेका कारण झरिलाल राजबंशीको घर पश्चिम कन्चनबारी चौकसम्मको क्षेत्रमा नालालाई स्कोरिङ्ग (डाउन) गर्नुपर्ने निचोड निकालेको हो ।
चार वर्ष अगाडी समेत यहि योजना अनुसार तत्कालिन मेयर भीम पराजुलीले प्राविधिक लागत अनुमान तयार पार्न लगाएका थिए । बजेट व्यवस्थापन नगर्दा त्यसपछिका प्रत्येक वर्ष डुबानको समस्या भोगिरहनु परेको छ । त्यहि स्टिमेटलाई आधार मान्दा पनि सडकको केन्द्र भागमा आरसीसी ड्रेन निर्माण गर्न एककरोड २१ लाख र कन्चनमार्गको नाला स्कोरिङ्ग गर्न ५७ लाख रुपैँया लागत अनुमान गरिएको थियो । मूल्यअभिबृद्धिसहित त्यहि स्टिमेटलाई आधार मानेर बजेट बिनियोजन भए आगामी आर्थिक वर्षमा राजबंशी टोलको पानीको निकास संभावना हुने स्थानीय मुरारी गजुरेलले बताउँछन् ।
दोस्रो विकल्पको रुपमा दुध फारमबाट छलेन सडकको पूर्वको नालासँग समानान्तर ड्रेन निर्माण गरेर कन्चनबारीसम्म ल्याएर साइफनमा मिसाउने छ । झण्डै साढे दुई किलोमिटर ड्रेन समानान्तर रुपमा ल्याउँदा त्यसले वस्तीको पानीको निकास सहज हुने अनुमान गरिएको छ । विराटनगरको दक्षिणी क्षेत्रमा यसको अहिले प्रयोग भईरहेको छ । दक्षिणतर्फको जुन अवधारणा छ त्यसलाई उत्तरतर्फ प्रयोग गर्न केहि कठिनाई समेत देखिएको छ । निजी घर निर्माण गर्दा सडकसँगको सेटब्याक मिचेको अवस्थामा साइड क्लियर गर्न समस्या हुन्छ । तर, वडा अध्यक्ष बस्नेतले बजेटको व्यवस्थापन भए समानान्तर नाला निर्माणका लागि साइड क्लियर गराउन सकिने दावी गरेका छन् । उनले सडक सीमा मिचेर बनेका संरचनाहरु हटाउन कसैलाई सोधिरहनु नपर्ने बताए ।
समानान्तर नाला निर्माण गर्दा दुधफारमदेखि कै पानी आउने भएकोले राजबंशी टोलमा डुबान नहुने बुझाई छ । तर, टोल संगठनका सचिव तथा राजबंशी टोलका पुरानावासी बसन्त घिमिरेले भने त्यहाँको भू–बनोट बटुको आकारको रहेकोले वर्षात् हुनासाथ सबैतिरको पानी त्यहाँ केन्द्रीत हुने बताए । उनले त्यसका लागि उचित ड्रेन निर्माण गरिनुपर्नेमा जोड दिएका थिए । अहिलेसम्म राजबंशी टोल उत्तरतर्फ एकजना अग्रवालको खाली जग्गामा पानी ड्याम भएर बस्ने र त्यहाँ भरिएपछि राजबंशी टोलमा पस्ने समस्या छ । अग्रवालले आफ्नो जग्गालाई छोएर सडक तथा नाला निर्माण गर्न थाल्ने बित्तिकै अदालत गएर मुद्दा हाल्दै आएका छन् । त्यो खाली जग्गामा संरचना निर्माण हुने अवस्था आए राजमार्ग समानान्तर नालाले राजबंशी टोलको समस्या समाधान गर्ननसक्ने स्थानीयको बुझाई छ । स्थानीय गायत्रा खतिवडाले राजबशी टोलको निकासका लागि वैकल्पिक विधि भन्दा दिर्घकालिन रुपमा बाटोको केन्द्रभागबाट ड्रेन निर्माण गरेर कन्चनमार्गको नाला डाउन गर्नु उचित विकल्प भएको बताइन् ।
घरधनी विस्थापित, भाडामा बस्नेको बिचल्ली
कन्चनबारीको राजबंशी टोलमा बस्ने धेरै घरधनी चारदिनदेखि विस्थापित छन् । यहाँका घरमा भाडामा बस्नेहरुको बिचल्ली भएको छ । घरमा ताला लगाएर काममा गएकाहरु फर्केर आउँदा कोठामा पानी पसेर सबै सामान बिग्रेपछि डेरा सर्ने अवस्थामा पुगेका छन् । यसले घरधनीहरुलाई अरु पीडा दिएको छ । ठूलोलगानी गरेर बनाएका घरमा भाडामा बस्नेहरु टिक्न नसक्ने समस्या हुँदा बैंकको ब्याज तिर्न मुश्किल पर्ने गरेको उनीहरुको गुनासो छ ।