आगलागीपछि सधैं गुनासो–विराटनगरमा समयमा पुग्दैन दमकल

<span class='c1'>आगलागीपछि सधैं गुनासो–विराटनगरमा</span> <span class='c2'>समयमा पुग्दैन दमकल</span>

विराटनगर । गत असोज ९ गते कोशी राजमार्ग अन्तर्गत धरान रोडको भव्या इन्टरनेशल प्रा.लि.को इलेक्ट्रिक साइकल शो–रुममा आगलागी भयो । आगलागी भएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको गुनासो पीडित र घटनास्थल आसपासका नागरिकले गरे । इलेक्ट्रिक साइकल शो–रुममा लागेको आगो एकै छिन्मा नियन्त्रण लिनसक्ने अवस्थाको फैलावट भयो । त्यसमा सिलिङमा लगाएको फल्स सिलिङले समेत मद्दत गरेको थियो ।
जे होस् आगलागी भएपछि त्यसको नियन्त्रणमा अधिक न्यून समय खर्चनु पर्छ । त्यसका लागि दमकलको सहयोग लिनुपर्ने हुन्छ । नागरिकको पनि उतिकै दायित्व हुन्छ । किनकी यो भवितव्य वा बिपत्ती सबैको सहयोगबाट मात्रै पार लाग्छ । भव्या इन्टरनेशनलदेखि नजिकै पेट्रोलपम्प समेत थियो । त्यहाँ फायर एक्सटिंग्विशरहरु थियो । आगलागी भईरहेको स्थानमा त्यसलाई तत्काल प्रयोग गरेको भएपनि केहि न केहि नियन्त्रणमा सहयोग पुग्थ्यो । तर, नागरिकका हैसियत वा सामाजिक दायित्वको हिसाबले त्यसलाई प्रयोग गरिएन ।
यद्यपी आफ्नो निजी प्रयोजनका लागि राखिएको अग्नि नियन्त्रकलाई प्रयोग नगरीपनि महानगरपालिकाको दमकल शाखाको कमजोरीले बढी क्षति भएको आरोप पीडित पक्षको छ । तर, महानगरपालिकाले यसलाई खण्डन गर्दै सुचना पाएको दश मिनेटमा नै दमकल घटनास्थलमा पुगेको जिकीर गरेको छ । आगलागी हुँदा सम्बन्धित प्रा.लि.का कोहिसँग पनि दमकलको नम्बर थिएन । घटनास्थलमा तत्काल उपस्थित प्रहरीले जिल्ला प्रहरीमा, जिल्ला प्रहरीले दमकल शाखामा जानकारी गराएको रेकर्ड देखिन्छ । बाँकी कसैले पनि फोन गरेको रेकर्ड नभएको दावी स्वयम् महानगरपालिकाकाले गरिसकेको छ । र, दमकल ढिला पुगेको भन्ने समाचारको खण्डन समेत गरिसकेको छ ।
हुन त गत मंसिर २० गते विराटनगर–७ सातघुम्ती रोडको कवाडी गोदाममा आगलागी हुँदा पनि दमकल ढिला पुगेको आरोप थियो । आगलागीमा परेर चारजना नागरिकको ज्यान गएको थियो । त्यसबेला पनि यहि आलोचना सहनु परेको महानगरपालिका नगर प्रहरी निरीक्षक राजन पौडेलले दमकल शाखामा घटना लगतै नागरिकले फोन गरिदिए मात्रै पनि सहज हुने बताए । तर, नागरिकका मोवाइलमा अत्यावश्यक अवस्थाका लागि दमकल र एम्बुलेन्सको नम्बर कति हुन्छ ? भन्ने प्रश्न समेत सँगै उठ्ने गरेको छ । भव्यामा आगलागी भएको सूचना जिल्ला प्रहरीबाट महानगरपालिकामा रिले हुनु अगावै घटनास्थलको प्रारम्भिक चरण जानकारी गराउँदै दमकल शाखाले पाएको भए अलिक छिटो आउँथ्यो भन्ने दावी गरिएको छ ।
महानगर प्रहरी निरीक्षक पौडेलले भने–महानगरको दमकल शाखाको फोन नम्बर ०२१(४२२००० र महानगरको हर्टलाइन सेवा १६६०२१४२२२२ कति नगरवासीको मोवाइलमा सेभ गरिएको छ ? यदि सेभ गर्नु भएको छैन भने सुचना पनि तत्काल आउँदैन ।
उनले चाडपर्व नजिक आईरहेको र अब विस्तारै सुख्खा मौसम सुरु हुने भएकोले पनि आगलागीका घटनाबाट हुने क्षतिलाई न्यूनीकरणका लागि दमकल शाखाको नम्बर सबैले सेभ गरिदिन आग्रह गरेका छन् । उनका अनुसार दमकलमा जिपिएस र फोनमा कल डिटेल समेत सुरक्षित हुने भएकोले भव्या इन्टरनेशनलमा आगलागी हुँदा प्रहरी बाहेक अरु कसैले पनि जानकारी नगराएको दावी गरेका छन् । यदि पुष्टि हुने कुनै आधार र प्रमाण पेस गरेमा बारुणयन्त्र शाखाामा कार्यरत कर्मचारी कारवाहीमा पर्ने उनको जिकीर छ ।
महानगरपालिकाले यस अगाडी नै जारी गरेको विज्ञप्तीमा दमकलमा जीपीएस जडान गरिनुका साथै कल डिटेलसहितको टेलिफोन सेट राखिएकोले उल्लेख थियो । विज्ञप्तिमा भनिएको छ, ‘दमकल शाखाको रेकर्डअनुसार मिति २०८१ असोज ९ गते बुधबार दिउँसो २ बजेर ५२ मिनेटमा जिल्ला प्रहरी कार्यालय मोरङबाट आगलागी सम्बन्धमा सूचना प्राप्त भएको र सूचना प्राप्त हुन साथ दमकल घटनास्थलतर्फ प्रस्थान गरी ३ बजेर २ मिनेटमा पुगेको देखिन्छ । आधुनिक प्रविधिलाई सबैले आत्मसाथ गर्नै पर्ने हुन्छ। यस्ता भ्रमपूर्ण समाचार र अनावश्यक टिकाटिप्पणीको पछि नलाग्न सम्पूर्ण महानगरवासीमा हार्दिक अनुरोध गर्दछौं ।’
तर, सञ्चालक मनिश बंशल रहेको भव्याका एक कर्मचारीका अनुसार आगलागी भयो भनेर जानकारी दिएको ४२ मिनेटपछि मात्रै दमकल पुगेको थियो । ती कर्मचारीका अनुसार उनीहरु आफैंसँग दमकलको नम्बर थिएन । आगलागीपछि नजिकै रहेकी एकजना महिलाले दमकललाई फोन लगाउनु भएको थियो । त्यो नउठेपछि पुनः गरिएको थियो । त्यसपछि प्रहरी आएका थिए । प्रहरीले तत्काल फोन गरेका थिए । फेरी अर्का प्रहरी आए अनि पुनः फोन लगाए पनि रिसिभ नभएको जिकीर छ ।
देखाउने पाँच, चलाउने तीन छन् दमकल
विराटनगर महानगरपालिकामा तीन वटा दमकल मात्र छन् । जापान सरकारले दिएको सबै भन्दा ठूलो एउटा दमकल बिग्रिएर वर्षौदेखी थन्किएको छ । अर्को दमकल पुराना भएकोले काम चल्ने गरि मर्मत गर्न सक्ने अवस्थामा छैन । चालु अवस्थामा रहेकामध्ये एउटा दमकल अहिले पनि मर्मतमै छ । बाँकी दुई दमकल मात्रै स्टेण्ड बाई छन् ।
पानी स्टोरेज क्षमता न्यून रहेका पुराना दुई वटा र प्रदेश सरकारले दिएको एउटा गरेर जम्मा तीन वटा दमकल छन् । नगरबाट उपमहानगर अनि महानगर, कोशी प्रदेशको राजधानी विराटनगर आगलागीको हरेक कोणबाट जोखिममा छ । खासमा विराटनगर क्षेत्रमा प्रसारण हुने बिद्युतको तार कमजोर छ । त्यसलाई विस्थापित गरेर नयाँ ट्रान्सफर्मर राख्ने र केवल अपग्रेड नहुँदा ‘लाइन सर्ट’को जोखिम छ । त्यसपछि दक्षिणी क्षेत्रमा फुसका घरहरु र हिउँदमा घुर ताप्ने कार्यले आगलागी अर्को जोखिममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्