काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको तीन खेलको टी–२० आई श्रृंखलाको दोस्रो खेलमा अमेरिकालाई सुपर ओभरमा पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला जितेको छ ।
निर्धारित २० ओभरको रोमाञ्चक खेलमा समान १ सय ७० रन भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।
सुपर ओभरमा सोमपाल कामीले अमेरिकाका दुई ब्याटरलाइ आउट गर्दा केवल ३ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य नेपालले सहज रुपमा ४ बलमै लक्ष्य पुरा गर्दै सिरिजमा २–० को अग्रता बनाएर अन्तिम खेल अघि जित्न सफल भयो । अब नेपालले अन्तिम खेलमा भोली प्रतिस्पर्धा गर्ने छ ।
यसअघि नेपालले १७ अक्टोबरमा भएको पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो । दोस्रो टी–२० मा पहिले ब्याटिङ गरेको नेपालले अमेरिकालाई जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा अमेरिकाले पनि १ सय ७० रननै बनाएपछि खेल सुपर ओभरम पुगेको थियो । डालस स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालका लागि अनिल साहले २५ रन बनाउँदा तेस्रो नम्बरमा ब्याटिङका लागि बएका भुर्तेल ४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनमा अविजित रहे ।
त्यस्तै गुल्सन झाले १९ रन बनाउँदा कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए । अमेरिकाका लागि नोस्थुस केन्जीङ्ग र जस्दिप सिंहले समान २–२ विकेट लिए । १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रननै बनायो ।
अमेरिकाका लागि आन्द्रेस गौसले ६२ रन बनाउँदा सैतेजा मुकमलाले ४७ रन बनाए ।
थप दोहोरो स्कोरका रुपमा मिलिन्डा कुमारले १५ तथा सायन जहांगिरले १४ रन बनाएका थिए । नेपालका लागि करण केसीले ३ विकेट लिंदा सोमपाल कामीले २ र सागर ढकाल तथा दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।