विराटनगर । कोशी प्रदेशमा दशैं–तिहारको अवधिमा ३७ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । यस पटक असोज १७ गते घटस्थापनादेखि १९ कात्तिक (भाईटिकाको भोलिपल्ट) सम्म भएका सवारी दुर्घटनामा ३७ जनाको मृत्यु भएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार दशैंको घटस्थापनादेखि तिहारको भाइटीकासम्म कोशी प्रदेशमा ५८२ वटा दुर्घटना भएका छन् । उक्त अवधिमा एक बालकसहित २९ पुरुष, २ बालिका र ८ महिलाको मृत्यु भएको हो ।
सोमबार एकै दिन २८ स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार कोशी प्रदेशको १४ जिल्लामध्ये झापामा १३, मोरङमा ८, सुनसरीमा ७, उदयपुर, संखुवासभा र खोटाङमा २÷२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा एक÷एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी ९६१ जना घाइते भएका छन् ।
प्रहरीको तथ्याङक अनुसार मोरङमा सबैभन्दा धेरै २१६ वटा दुर्घटना भएका छन् । झापामा १६५, सुनसरीमा १४६, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५÷५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३÷३, इलाम र ताप्लेजुङमा एक÷एकवटा दुर्घटना भएका हुन् । दुर्घटनामा पर्नेमध्ये पनि सबैभन्दा धेरै ५१३ वटा मोटरसाइकल छन् ।