नवराज कट्टेल
सायद, बिछट्टै दुःख मेरा बुबाले नगरीदिएको भए म हलमा बसेर फिल्म हेर्ने र त्यसको समिक्षा लेख्ने हुन्न थिएँ होला ! त्यसमा पनि मेरा बुबासँग मिल्ने ‘पूर्णबहादुरको सारङ्गी’ फिल्मको फ्रेमले हलमा भएका दर्शकका बुबाको कथा समेत बोकेको उनीहरुको आँखा रसाएबाट लाग्थ्यो । सामान्य आर्थिक उपार्जन भएको परिवारलाई निर्वाहमुखी खेती किसानीबाट व्यवसायीक खेती किसानीमा बढावा दिन ६० वर्ष दुःख गर्नु भएको मेरा बुबाको कथासँग फिल्मका प्रमुख पात्र बिजय बरालको भूमिका ठ्याक्कै मिलेपछि मसँग मौन बस्नु बाहेकको अर्को विकल्प थिएन । त्यहि बिकल्पका दर्शक पनि हलमा थुप्रै देखिए ।
जस्तो कि ‘गाईनेको छोरा गाईने’ नै हुन्छ भन्ने भनाई ‘हलीको छोरो हली नै हुने त हो नी’ कुराबाट मनमा कता–कता बालापन कडक्क दुख्छ । राजनीतिको सिंहालोकनमा २०३६–२०६५ सालसम्मका परिदृष्य भित्र पूर्ण बहादुरले सन्तानका लागि गरेको दुःख पस्कन फिल्म मजबुत देखिन्छ ।
समाज ऐनामा देखिने विविधताका अनुहार, त्यसको ब्याख्या र तर्कमा प्रेम–ईष्या, शोषण–प्रतिरोध, भावना–क्षमतालाई फिल्मले देखाएको छ । पूर्खाको सम्पतिबाटै जीवन निर्वाहका लागि भर पर्नुपर्ने सन्तानलाई दिइएको शिक्षाले जर्बरजस्त बाँधिनु पर्दा गन्धर्व कुलमा जन्मिएपछि सारङ्गी छोड्न नहुने मान्यताले जकडिदिएको छ । पुर्खेउली सीप अनुसारको कर्मले जसरी पूर्णबहादुरको आर्थिक दुरावस्था र त्यसले आफ्नै श्रीमतीबाट गलिनुपर्ने अवस्था फिल्ममा निर्देशक सरोज पौडेलले उतारेका छन् ।
आफ्ना बाबुले दिएको सारङ्गीबाट जीविकोपार्जन गरिरहेका पूर्णबहादुरको घरजम समेत त्यहि पेसाका आधारमा दोहोरीमा विजयी भएपछि हुन्छ । जब श्रीमतीलाई घर भित्र्याउँछन्, त्यसपछि सारङ्गीको धुनले मात्रै उनको घर भित्रको आवश्यकता मिटास दिईरहँदैन । विस्तारै श्रीमान् र श्रीमतीबीचको ‘कमेस्ट्रि’ डगमगाउँदै जान्छ । यतिसम्मकी सन्तान जन्मन्छ र उसलाई पुर्खेउली थितीमा जोड्ने की युग अनुसारको शिक्षा दिने दोधारको भूमरीमा सम्बन्ध रुमलिन्छ ।
यसपछि पूर्णबहादुरको बुबाको निधनसँगै भत्किएको भावनाबाट जागेको आत्माविद्रोहले फिल्मलाई उचाईमा पु¥याउने भूमिका दिएको छ । त्यसपछि फिल्ममा प्रेम–विछोड, मित्रता र इश्र्या घनिभूत भएर समाजमा देखिन्छन् भने घर भित्र बुबा र छोरोको सम्बन्धलाई कस्दै लैजान्छ ।
फिल्मको अभिनयसँगै यसका बीचबीचमा भरिएका गीतले अझैं धेरै मुटुलाई ‘लभधकलभधक’ बनाउँछ । फिल्मको सारसँग यसको स्वरुप गीतले पस्कने गर्दछ । जब सार र स्वरुपको मेल खान्छ तब फिल्मले दर्शकलाई तान्छ । दर्शकका मन फिल्मको अवधीभर सारङ्गी रेटेरै गाइएका गीतले तानिएको छ । अर्थात फिल्मको अर्गानिजम नै गीतका भाकामार्फत स्वाद चखाइएको छ । डिस्को र डान्सबारमा हाफ स्कट लगाएर लचकदार शरीरसँग पस्किएको म्यूजिक भन्दा सारङ्गीको सुरमा भरिएको आवाज चै नेपालीहरुको रुचीकर रहेछ भन्ने सन्देश पनि दिइएको छ ।
पात्र र प्रवृत्ति
फिल्मको केन्द्रमा पूर्णबहादुर (विजय बराल) छन् । उनी मुख्य अभिनयकर्ता वा फिल्मका हिरो हुन् । उनी सहायक पात्रमै देखिदाँ समेत फिल्ममा प्रमुख आकर्षक जस्ता लाग्थे । प्रमुख पात्रमा हुँदा उनको प्रस्तुतीले फिल्मलाई उचाई दिएको सत्य लाग्दछ । उनीसँगै बिरे (मुकुन भुसाल), माइला (बुद्धि तामाङ) साथीहरु छन् । मास्टर (भोलाराज सापकोटा), बाटुली (अन्जना बराइली), कमल (प्रकाश सपुत) सँगै माओत्से गुरुङ, देशभक्त खनाल, शंकर आचार्य, सुभास गजुरेल, विनोद न्यौपाने लगायतका कलाकारले फिल्मलाई जुरुक्कै उठाएका छन् ।
नेपाली फिल्ममा प्रमुख पात्रको युवाकाल, अधवैंशे काल र बृद्धकालको स्वरुपमा बिजय बराल मात्रै यस्ता पात्र देखिन्छन्, जुन फिल्ममै उनले सबै अवस्था गुराजिरहेका छन् । अभिनयमा देखिएको सशत्तक्ता भित्र पनि उनको उमेर अनुसारको भूमिकाले जिवन्तता पोखिरहेको देखिन्छ । फिल्ममा नजिक भएर भूमिका निर्वाह गर्ने बरालका साथी गन्धर्व मुकुन अनि ढाक्रे बुद्धि तामाङको अभिनय साँच्चै जस्तै लाग्छ ।
बाल कलाकार स्वयम् केसीको अभिनयले पनि मनलाई कता–कता जिरिङ्ग पारिरहन्छ । आमाले उचाई दिलाउन बुबाबाट छुटाएर विपत्तीको बेला शहर छिर्दै गर्दा बाटोबाटै फर्केर घर आउनु र बुबालाई अंगालो हालेको दृष्यले धेरैलाई भावुक तुत्याउँछ ।
बाटुलीको पात्रमा रहेकी अन्जना बराइलीको भूमिका भनेजति नदेखिएपनि परिवारको परम्परागत निर्णय बदल्न महिलाकोे आवाज कमजोर नहुने सन्देश दिइएको छ । सामान्य आरनमा श्रम गरेर खाने विश्वकर्मा परिवारबाट गीत गाएर चामल उठाउने गन्धर्व परिवारको सदस्य बन्दा उनको सोचमा केहि न केहि बदलाव आएको देखिन्छ । उनी समाजले गर्ने दमनलाई प्रतिरोध गर्न क्षमता विकास गरेर व्यक्तित्व निर्माण हुनुपर्ने मान्यतामा अडिग देखिएकी छिन् ।
तर, श्रीमानको आर्थिक अवस्था कमजोर र त्यसले भरथेग गर्न नसक्ने स्थितिलाई सुधार्ने भूमिका लुकाएर उनलाई अर्को पुरुषसँगको ट्रयापमा पर्ने भूमिकाले अभिनयमा अन्याय गरेको आभास गराउँछ । फेरी त्यहि घटनाले पूर्णबहादुरको आत्माविद्रोह गराउने र उनलाई संसार चिनाउने शिक्षा समेत प्राप्त हुन्छ । जीवन भताभुङ्ग भएपनि सप्रनु अगाडीको क्रमभङ्गता भने त्यहि घटना टर्निङपोइन्ट बनेको पक्का देखिन्छ ।
वयष्क कमल बनेका प्रकाश सपुतलाई फिल्ममा एसएलसीदेखि नै दिइएको भूमिका कता कता नमिले जस्तो देखिन्छ । जसरी उनको एसएसली उत्तिर्णको खुशीदेखि डाक्टर बन्दासम्मको एउटै स्वरुप देखिन्छ, त्यसले नमिलेको छनक दिन्छ । तर, अभिनयमा प्रकाशले पाएको स्पेशको भूमिकालाई न्याय गरेका छन् । उनी डाक्टर बनेपछि गाउँ फर्केर बुबाको उपचार गराउने अवसर पाएपनि मात्रै बियोगान्त मोड दिएको भए अहिलेका सन्तानलाई शिक्षा मिल्थ्यो ।
दर्जीको घरमा नापका लागि दिएको विद्यालयको सर्ट पूर्णबहादुरको छोराले लगाएको देखेर क्रान्तिकारी गफ चुट्ने शिक्षकले फुकाल्न लगाउनु अनि बाटोमा हिड्दै गर्दा त्यहि विद्यालयका सर्ट बुख्याँचामा देखिनुले समाजमा दलित तथा सीमान्तकृत जातिमाथिको हेपायती व्यवहारलाई चित्रण गरेको छ । यसले आजको समाजलाई पनि सुध्रन सन्देश दिन्छ । अर्थात कथा–पटकथा, संवाद–अभिनय नै सशक्त रहेको पूर्णबहादुरको सारङ्गी एउटा कालखण्डको सामाजिक ऐनाको रुपमा प्रतिबिम्बित भएर पर्दामा उतारिएको छ ।
निर्देशक–सरोज पौडेल
निर्माता – विनोद पौडेल÷प्याट्रिक सुवेदी
कथा –सरोज पौडेल
पटकथा – महेश दवाडी
कलाकार– विजय बराल, मुकुन भुसाल, अञ्जना बराइली, बुद्धि तामाङ, प्रकाश सपूत
समयावधि– १४५ मिनेट
ब्यानर –सभेन सिज र बाँसुरी फिल्मस्