विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिंसावादी, सत्य वचन र धर्मकर्ममा निष्ठावान समाजसुधारक महागुरु फाल्गुनन्दले देखाएको सत्मार्गको पालनमा जोड दिएका छन् ।
किराँत धर्मका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्तीका अवसरमा आज (आइतबार) शुभकामना सन्देश जारी गर्दै कार्कीले प्रेम र अहिंसाका प्रतीक फाल्गुनन्दको मार्गदर्शनले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्धत पुग्ने उल्लेख गरे । उनले फाल्गुनन्दको उपदेश र मार्गदर्शनलाई पालन गरे धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न सकिने बताए ।
जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपी, संस्कार संस्कृति, शिक्षा र समाज सुधारका साथै किराँत धर्मको उत्थान तथा संरक्षणको निम्ति लागिरहने भन्दै उनले फाल्गुनन्दले पुर्याएको योगदानको चर्चा गरे । भिडियो सन्देशसमेत जारी गर्दै मुख्यमन्त्री कार्कीले महागुरु फागुनन्दको योगदानको चर्चा गरेका छन् ।
उनले संवाद, सहकार्य र सहअस्तित्वका आधारमा अघि बढेर मुलुकलाई अगाडि बढाउन सकिनेमा जोड दिए । फाल्गुनन्दको जन्म १९४२ सालमा कोशी प्रदेशको इलाममा भएको हो । सरकारले उनलाई २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।
फोटो:फाइल