फुङ्लिङ (ताप्लेजुङ) । पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
वर्षभरि कञ्चनजङ्घा क्षेत्रमा दुई मुख्य पर्यटकीय मौसम छन् । पहिलो याम चैत, वैशाख र जेठमा हुन्छ भने दोस्रो भदौदेखि मङ्सिरसम्म चल्छ । यस वर्षको भदौदेखि सुरु भएको याममा हालसम्म करिब सात सय ५० विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा पुगेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् घुन्सा जाँचचौकी (चेकपोष्ट) कार्यालयको तथ्याङ्क छ । आन्तरिक पर्यटकको सङ्ख्या भने विदेशी पर्यटकको दोब्बर रहेको स्थानीय व्यवसायी बताउँछन् ।
परिषद्का पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार यसपटकको भ्रमणमा मुख्यतया फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाजस्ता देशबाट पर्यटक आएका छन् । गत वर्षका तुलनामा यस वर्ष अझ बढी पर्यटक आएका छन्, यसले स्थानीय व्यवसायीलाई पनि उत्साहित बनाएको पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो ।
कञ्चनजङ्घा भ्रमणमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढिरहेको छ । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको ठूलो उपस्थिति देखिएको छ । दसैँतिहारका बेला विशेषगरी स्थानीय र नेपाली पर्यटकले परिवारसहित कञ्चनजङ्घा आधार शिविरको यात्रा गर्दछन् । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज पूर्ण रूपमा भरिएका थिए ।
सदरमुकाम फुङ्लिङका होटल सञ्चालक विमल भण्डारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा २० प्रतिशत वृद्धि भएको छ । उहाँले भन्नुभयो, “कञ्चनजङ्घा भ्रमणका लागि आएका पर्यटकले हाम्रो होटल व्यवसायलाई चलायमान बनाएको छ ।”
कञ्चनजङ्घा क्षेत्रमा बढेको पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याएको छ । होटल, रेस्टुराँ, ट्रेकिङ गाइड, पोर्टर र हस्तकला व्यवसायमा उल्लेखनीय वृद्धि भएको छ । फुङ्लिङसहित आधार शिविर क्षेत्रमा सञ्चालित होेटलमा पर्यटकको बाक्लो उपस्थिति देखिन्छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यसपटकको सिजनमा होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ ।
पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार कञ्चनजङ्घा पर्यटक आगमनले ट्रेकिङ गाइड र पोर्टर पनि लाभान्वित भएका छन् । त्यस्तै यातायात व्यवसायीसमेत लाभान्वित भएका छन् । मौसम प्रतिकूल नभएसम्म गाइड र पोर्टरले राम्रो आम्दानी गर्ने अवसर पाउँछन् । पर्यटन सहायक टासीतेन्जिङ शेर्पाका अनुसार विदेशी पर्यटक प्रायः लामो अवधि बस्ने हुँदा गाइड, पोर्टर र टेन्सनको माग पनि बढेको छ ।
कञ्चनजङ्घा क्षेत्रलाई विश्वकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन विभिन्न संरक्षण तथा प्रवर्द्धन गतिविधि चलाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले स्थानीय समुदाय र व्यवसायीसँग मिलेर पर्यटन प्रवर्द्धनमा काम गरिरहेको छ । स्थानीय व्यवसायी पनि पर्यटकीय पूर्वाधार सुधार गर्न सक्रिय छन् ।
पर्यटन प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरिँदै आएका छन्, जसमा हिमाली पर्वतारोहण मेला, सांस्कृतिक महोत्सव र स्थानीय उत्पादनको प्रदर्शनीजस्ता कार्यक्रम समावेश छन् । यस्ता गतिविधिले पर्यटकलाई आकर्षित गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आवतजावत गर्ने मुख्य दुई सिजन भए पनि असार र साउनमा वर्षाका कारण ट्रेकिङ मार्ग अवरुद्ध हुने समस्या रहन्छ । यसबाहेक पुस, माघ र फागुनमा हिमपातले गर्दा ट्रेकिङ मार्ग कठिन बन्छ, जसले गर्दा पर्यटकको आगमनमा कमी आउने गरेको घुन्सा क्षेत्रमा होटल सञ्चालक कान्छा शेर्पाले बताउनुभयो ।
कञ्चनजङ्घा क्षेत्रको पर्यटनलाई दिगो बनाउने उद्देश्यका साथ विभिन्न योजना निर्माण भइरहेका छन् । स्थानीय प्रशासन र पर्यटन व्यवसायीको सहकार्यमा पर्यटकीय पूर्वाधार विकास गर्न पहल हँुदै आएको छ । पर्यटन सहायक शेर्पाका अनुसार नयाँ पदमार्गको विकास, सुरक्षित आवास सुविधा र मार्गनिर्देशिका तयार पार्न विशेष योजना बनाइएको छ ।
यसका साथै पर्यटकको सुविधाका लागि आधार शिविर क्षेत्रमा वाइफाइ, प्राथमिक उपचार केन्द्र र पर्यावरणमैत्री शौचालयको व्यवस्थापनमा ध्यान दिइएको छ । कञ्चनजङ्घा क्षेत्र नेपालको एक महत्त्वपूर्ण पर्यटकीय सम्पदा हो, जसले आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गरिरहेको छ । पछिल्लो समय पर्यटकको सङ्ख्यामा भएको वृद्धिले स्थानीय व्यवसायलाई चलायमान बनाएको छभने रोजगारका अवसर पनि बढेका छन् । पछिल्लो समयमा जलवायु परिवर्तन र मौसमको अनिश्चितताले दीर्घकालीन चुनौती सामना गर्नुपर्ने देखिन्छ ।