विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मंगलबारदेखि गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र तेस्रो बृहत् प्रतिभा पहिचान कार्यक्रम सुरु भएको छ ।
बुढीगंगा-१ टंकीसिनुवारीमा रहेको श्री नरग्राम नमुना माध्यमिक विद्यालयको प्रांगणमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पूर्वमन्त्री डिगबहादुर लिम्बू र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले उक्त प्रतियोगिताको उद्घाटन गरे ।
पालिकाको आयोजनामा आजदेखि मंसिर १५ गतेसम्म हुने प्रतियोगितामा बुढीगंगाका सामुदायिक र संस्थागततर्फका ३५ वटा विद्यालयका ८०० विद्यार्थीहरूले सहभागिता जनाउनेछन् । खेलकुदतर्फ भलिबल, कबड्डी, कराते र एथलेटिक्समा प्रतिस्पर्धा हुने छ। भने चित्रकला,वक्तृत्वकला, गायन र नृत्य विधामा प्रतिस्पर्धा हुने छ ।
उपाध्यक्ष अमृताकुमारी गच्छदारले २०७५ देखि चुनौती र कठिनाइका बाबजुद पनि प्रतियोगिता गरिरहेको सुनाइन् । प्रदेश र संघीय सरकारले बजेट नदिएको परिस्थितिमा पनि तीन वर्षदेखि प्रतिभा पहिचान कार्यक्रम गरिरहेको उनको भनाइ छ ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजालले विद्यार्थीहरूलाई हारबाट नआत्तिन आग्रह गर्दै जित र हारभन्दा पनि प्रतियोगितामा सहभागी हुनु नै ठुलो कुरा भएको सुनाए ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले शिक्षामा विभेद भइरहेको बताउँदै उक्त विभेद हटाउन सबै लाग्नुपर्ने सुनाए । कक्षाकोठा ज्ञानको तुलनामा बाहिरी ज्ञानले पनि विद्यार्थीको भविष्य उज्ज्वल हुने उनले बताए । पूर्वयुवा तथा खेलकुद मन्त्री डिगबहादुर बस्नेतले राष्ट्रपति रनिङ सिल्डका लागि बजेट छुट्याउनुपर्ने औंल्याए । आफ्नो कार्यकालमा बजेट छुट्याउन नपाएको र वर्तमान मन्त्रीले पनि छुट्याउन नपाएको उनको भनाइ छ ।
यस्तै, मन्त्री चौधरीले राष्ट्रपति रनिङ सिल्डमा सहभागी विद्यार्थीहरूलाई आउँदो राष्ट्रिय खेलकुदमा सहभागी हुन आग्रह गरे । विद्यालय र खेलकुद अन्तरसम्बन्धित हुने बताउँदै विद्यार्थीहरूलाई हरेक प्रतिस्पर्धामा सहभागी गराउन शिक्षक र अभिभावकलाई सुझाव दिए ।
नेपालमा अहिले भलिबल लिग र एनपिएल जस्ता अन्तर्राष्ट्रियस्तरको लिगहरू भइरहेको बताउँदै आगामी दिनमा कबड्डीको लिग गराउने योजना रहेको मन्त्री चौधरीको भनाइ छ । विद्यार्थीहरूले स्वागत नृत्य गरी आगन्तुकलाई मनोरञ्जन गरेका थिए ।