रोकिएन अवैध उत्खनन, हिउँदमा माटो खन्दा बर्खामा बाढी बस्तीमा

<span class='c1'>रोकिएन अवैध उत्खनन, हिउँदमा माटो</span> <span class='c2'>खन्दा बर्खामा बाढी बस्तीमा</span>

प्रेम देवान
विराटनगर । सुनसरी र मोरङ जिल्लाको सीमा हुदै बग्ने बुढी खोलाले बर्षेनी ठुलो धनजनको क्षति पुर्याउने गर्दछ । यसको मुख्य कारण अवैध रुपमा हुने माटो उत्खनन् पनि एक हो । बर्खायामको समयमा खोला क्षेत्रका बस्ती तथा कृर्षी प्रयोजनको लागि लगाईने कृर्षीबालीहरुमा पनि बाढीले ठुलो क्षति पुर्याउने गर्दछ ।

हिउँदको समयमा नदिनाला तथा खोलाहरुबाट अवैध रुपमा माटो उत्खनन् हुने गरेको पाइएको हो । दुहबी नगरपालिका –७ भलुवाइस्थित दुहबी खोला नजिक मापदण्ड विपरित जथाभावी उत्खनन गरेर बस्ती नै जोखिममा पार्ने कार्य भईरहेको भएपनि कसैले चासो देखाएका छैनन् ।

उत्खनन भएको स्थानमा टिपर ट्याक्टरमा माटो ओसारपसार हुँदै आएको छ । दुहबी नगरपालिका ५ मा रहेको श्री आलिया कन्स्ट्रक्सन प्रालिले बुढी खोला नजिकै माटो उत्खनन गरिरहेको छ । मापदण्ड बिपरित जथाभावी बस्ती नजिक उत्खनन हुँदा त्यसले पार्ने असरको कुनैपनि मूल्याकंन नगरिएको स्थानीयको गुनासो छ । वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सेमत नगरेको क्षेत्रमा जथाभावी रुपमा अवैध उत्खननले दुहबी ७ भलुवाइ सहितका अन्य बस्ती र खेतीयोग्य जमिनलाई जोखिम बनाएको हो ।

अवैध उत्खनन् भईरहेको क्षेत्रमा सञ्चारकर्मीको टोली आउने भन्ने सूचना पाएपछि ठेकेदारका कर्मचारीहरुले स्काइभेटर खोलादेखि बाहिर निकालेर नखनेको जस्तो पार्नलाई परालले छेकेका थिए । माटो लिन आएको टिपर उत्खनन स्थल नजिकबाट फर्काइएका थिए । खोलाको ठेक्का लगाई नियमनको समेत जिम्मेवारी पाएका दुहबी नगरपालिकाका जनप्रतिनधीहरु मौन बस्दा ठेकेदारको मनपरी बढेको छ । यसरी स्थानीय तहको मौनताले मिलेमतोको आशंका उब्जाएको स्थानीय बताउँछन् ।
आलिया कन्स्ट्रक्सन प्रालिका संचालक सदाक हुसैनले आर्थिक वर्ष २०८१/०८२ मा दुहबी नगरपालिसँग बुढी खोलाको तीन ठाउँबाट बालुवा र भरौट उठाउने ठेक्का १ करोड २५ लाख रुपैयाँमा पाएको छ । दुहबी नगरपालिका ३ को कदमगाछि, दुहबी ४ को मलहटि र दुहबी १ को प्रास्टुकिबाट बालुवा र भरौट दैनिक ४९।१६ घनमिटर र वाषिर्क १३.२७४ घनमिटर उत्खनन गर्न पाउने सम्झौता पत्रमा उल्लेख छ । तर, ठेकेदार कम्पनीले सम्झौता बिपरीत जथाभावी रुपमा निजी जग्गाको माटो खरिद गरेर बस्ती जोखिममा हुने गरी एक महिनादेखि उत्खनन् गर्दै आएको छ । नगरपालिकाको सम्झौतामा खोलादेखि पाँच सय मिटर टाढा उत्खनन गर्ने मापदण्ड तय गरेको छ । आलिया कन्स्ट्रक्सनले खोलाकै छेउ ५ मिटरमा १५ देखि २० फिट गहिरो खाडल बनाएर माटो उत्खनन गर्दै आएको छ ।

ठेकेदार कम्पनीले एक ठाउँबाट उत्खननको स्वीकृत देखाएर निजी व्यक्तिको जग्गाको माटो त्यो पनि मापदण्डबीपरित बस्ती जोखिममा हुने गरी विक्री गर्दै आएका छन् । एक महिना अगाडी पनि दुहबी नगरपालिकाले मापदण्ड विपरीत खोला नजिक आलिया कन्स्ट्रक्सन उत्खनन गरेको पाएपछि बन्द गरिएको थियो । अहिले फेरी दुहबी ७ मा झरीलाल सरदारको २७ कठ्ठा जग्गाको माटो अलिया कन्स्ट्रक्सनले खरिद गरेर विक्री गर्दै आएका छन् । उनले प्रतिटिपर २ हजार देखि ३ हजार ५ सयसम्म विक्री गर्दै आएको बुझिएको छ । मापदण्ड बिपरीत दैनिक सयौं टिपर निस्किने गरेको स्थानीय बताउँछन् । तर जग्गा धनी झरिलाल सरदारलाई के कति बिक्री हुन्छ आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिए।
वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदनमा उक्त स्थानबाट ५ फिट गहिराइसम्म मात्र उत्खनन गर्न सकिने उल्लेख भए पनि १५ देखि २० फिटसम्म उत्खनन भइरहेको छ ।

दुहबी नगरपालिकाको वन बातवरण तथा विपद शाखाका प्रमुख बिमल नारायण चौधरीले माटो उत्खनन भएको स्थानमा दुहवी नगरपालीकाले खन्न दिएको छैन, सम्झौता बिपरीत माटो उत्खनन भएको छ चौधरीले भने । निजी जग्गामा कसैले चोरी निकासी गर्छ भने,त्यस रोक्नुपर्छ ।

यता दुहबी नगरपालिका प्रवक्ता तथा ७ का वडाध्यक्ष विजय कुमार चौधरीले यसअघि पनि बन्द गरिएको ठाउँमा मापदण्ड विपरीत उत्खनन् गरेको देखिएपछि कारवाहीको प्रक्रिया अगाडी बढाउने बताए । ‘हामीले यसअघि पनि जथाभावी रुपमा उत्खनन भएको पाइएपछि प्रहरीको टोली सहित स्काइभेटरको चाबी लिएर गएका थियौ । त्यसपछि उत्खनन बन्द भएको थियो । अहिले फेरी उत्खनन गरेको पाइएपछि कारवाहीको प्रक्रिया अगाडी बढाउने अध्यक्ष चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्