-चूडामणि नेपाल ‘अकिञ्चन’
‘कथा कहाँ पुगेको थियो ? म सोच्दै छु ।’ पात्रहरुले विद्रोह गर्न थालेपछि घटना र परिवेश अर्कैतिर मोडियो ।
‘ममाथि अन्याय गर्दै हुनुहुन्छ है ।’ महिला पात्र बोली ।
‘लेखक ज्यू घटनालाई दुःखान्त बनाएर परिवेश पनि परिवर्तन गर्नुहोस ।’ महिलामित्र मोहिनी बोली । ‘हाम्रो हक अधिकार बिरुद्धको घटना अव हामी कथामा चित्रण गर्न दिंदैनौँ ।’ दुबैजना एकैस्वरमा बोले । ‘यो मेरो सार्वभौम लेखकीय स्वतन्त्रता हो । मैले लेख्न पाउनु पर्छ । महिला पुरुष मेरालागि बराबर हुन् । पुरुष लेखनबाटमात्र महिला प्रताडित भएका होइनन् । सामाजिक रीतिरिवाज, रहनसहन, लवाई–खुवाई, घर व्यवहार, सुख–दुःख, प्रेम, आदिको चित्रणमा कथाको घटना अनुसार कोही पात्रमाथि अन्याय होला तर त्यो कथाको माग हो । कहिले सुखान्त कहिले दुःखान्त । यो मेरो लेखकीय अधिकार हो । समाजको यथार्थ हो, किन रोक्नु खोज्नुहुन्छ ?’ लेखक बोल्यो ।
‘तपाईहरुले महिलालाई कमजोर बनाएरै चित्रण गर्नुभयो । श्रृङ्गारिक लयमै सजाउनुभयो । अहिले पनि महिलालाई प्रोत्साहन गरेर लेख्न किन सक्नुहुन्न तपाईहरु ? तपाईंहरुले खेलौना बनाउनु भयो ’ महिला पात्र बोली ।बैठक कोठामा आज पनि रडाको मच्चियो, आवाज महिलाकै थियो, ‘तेरा माइतबाट के दाइजो ल्याएकी छस् र हैकम जमाउँछेस, ठूला ठूला भाषण गररेमात्र घर चल्दैन । म सक्दिन अव । कहाँ जानु पर्छ जा, ठूलो साहित्यकारलाई पनि संगै लैजा । सके गरेर खान्छु नसके मर्छु । बाँच्न कहाँ पाएँ र ? जीवनभरि त मरेकै छु । आफु हारेर गए, आरोप मैले खैप्नु प¥यो । लोग्ने मारी, खाई भन्ने दोष मेरो टाउकोमा आयो ।’
टाउको रन्थनियो । पात्र परिवेश घटना कता हराए कता । सम्झे कस्का लागि लेख्दै छु ?
विराटनगर-१