इन्दु साह
विराटनगर । सार्वजानिक सवारीमा लामो दुरीको यात्रा तय गर्दा महिला असहजतालाई हतपत बुझिदैन ।
चालक, सहचालकदेखि यात्राका क्रममा अधिकांश पुरुषको संख्या धेरै हुने सार्वजानिक सवारीको यात्रा महिलाका लागि जोखिमपूर्ण नै हुन्छ । अझै हिंसाका दृष्टिकोणले उनीहरुलाई घोचपेच हुने गरेको गुनासो गर्दछन् । अझै कतिपय अवस्थामा बसेको सिट अगाडी वा पछाडीबाट छेड्खानी समेत हुन्छ । शिक्षित र कानुन बुझेको महिला भए हिंसाको प्रतिरोध यात्राकै दौरानमा गर्दछन् तर अशिक्षित भए उनीहरु रातोपिरो बनेर मौन बस्दछन् र सहन्छन् ।
विराटनगर बसपार्कबाट छुट्ने लामो दुरीका सार्वजानिक यातायातले गन्तव्य छुन २४ घण्टासम्म यात्रुहरुलाई यात्रा गराउँछन् । यस क्रममा कतिपय स्थितिमा महिलालाई धेरै समस्या झेल्नुपर्ने अवस्था रहेको उनीहरुको बुझाई छ । सार्वजानिक यातायातमा यात्रारत रहँदा शौचालयको पहुँचमा महिला हुँदैनन् । अझै बस रोकेर झाडीमा पिसाब फेर्ने पुरुषका कारण महिलाहरुले अफ्ठ्यारो मान्नुपर्ने स्थिति छ ।
महिलावादी अभियन्ता तथा अधिवक्ता शोभा बजगाँईका अनुसार यदि सामाजिक मर्यादालाई ख्याल गर्ने हो भने पुरुषहरुले उभिएर पिसाब फेर्दा उनीहरुले असजिलो मान्नुपर्ने हो । तर, पुरुषले उभिएर पिसाब फेरिरहँदा महिलाले मुन्टो बटारेर मोडिनुपर्ने बुझाई हावी छ । महिलाले पनि आपत पर्दा खुल्लास्थानमा पिसाब फेर्न सक्छन्, बजगाँई भन्छिन् तर पुरुष भन्दा त सामाजिक मर्यादा महिलाले राख्ने गरिको पोशाक लगाएका हुन्छन् । महिला जहाँ पायो त्यहि बस्दैनन् ।
विभिन्न याात्रामा महिलावादी दृष्टिकोणबाट सुधारको सुझाव दिदैं आएकी बजगाँईका अनुसार सार्वजानिक यातायात महिलामैत्री हुन आवश्यक रहेको बताउँछिन् । जस्तै की यति ठूलो लगानी भएको क्षेत्रले सार्वजानिक शौचालय, त्यहाँ पानी र साबुन, चेन्जीङ्ग रुम जस्ता संरचना सडक नजिक बनाउनुपर्ने उनको माग छ । ‘कुनै महिला पिरियड समेत भएका हुनसक्छन्, त्यस्तोमा दङ्गदङ्गी गन्हाउने फोहोरको आहलमा उभिएर प्याड परिवर्तन गर्दाका जोखिम कसले बुझ्ने ?’ बजगाँईले भनिन्–फेरेको प्याड कहाँ फ्याक्ने ? भन्ने पनि ठाउँ छैन । उनका अनुसार लामो दुरीको यात्रा गर्दा महिलाका लागि सहज हुने संरचना भएको स्थानमा मात्रै बस रोक्ने र सहजीकरण गर्ने व्यवस्था प्रहरीले मिलाउन सके हिंसा न्युनीकरण हुनसक्छ ।
विराटनगरबाट विभिन्न गन्तव्यमा पुग्ने सार्वजानिक सवारीले पेट्रोलपम्प, होटल तथा सार्वजानिक शौचालय भएको स्थानमा बस रोक्छन् । अझै कतिपय ठाउँमा आपत पर्दा जंगलमै रोकेर भएपनि सहजीकरण गर्ने गरेको चालकहरु बताउँछन् । विशेषगरी महिला यात्रुहरू पीडित भएको गुनासो चालकसम्म पुग्ने गरेको छ । विराटनगरबाट दाङसम्मको २४ घण्टे यात्रामा कहिलेकाँहि मात्र सार्वजनिक शौचालय बाहेक बस रोक्नु पर्ने गरेको दिव्य यातायात बसका सहचालक यस्वन्त मण्डलले बताउछन् ।
विराटनगरदेखि दाङसम्मको रुटमा नियमित यात्रा गर्ने अप्सरा यातायातका व्यवसायी सुरेश लामा यात्रुहरुलाई शौच गनुपर्ने हुँदा विभिन्न स्थानमा भएका होटल, पम्पमा लगायतका स्थलमा भएको शौचालय प्रयोग गर्ने गरेको बताउछन् । यस्तै, अर्का एक चालक पवन राजवंसीले भने महिलाहरुलाई विशेषगरी समस्या हुने गरेको बताउँछन् । बाध्यताबस उहाँहरु कुनै बेला झाडिमै शौच गर्न जानुपर्ने स्थिति हुन्छ ।
महिला यात्रुहरुले त अझ दिशा, पिसाव रोकेर बस्ने गरेको चालकहरु बताउछन् । खुल्ला स्थानमा शौच गर्न अप्ठेरो मानेर लामो समयसम्म उनीहरुले शौच नगरी बस्ने गरेको चालक तथा सहचालक बताउँछन् । पुरुष भन्दा कम बाहिर जानुपर्ने अवस्था आउनुको कारण पनि यहि होला, तर उनीहरुको स्वास्थ्यलाई असर गर्दछ । महिलाले यात्राका क्रममा पानी समेत कम पिउनुको कारण पनि दिसापिसाब बिसर्जन गर्न असहज भएकै कारण मानिन्छ । पानी पिएपछि पिसाब लाग्छ तर शौचालय नहुँदा उनीहरु पीडित हुनुपर्दछ । महिलावादी अभियन्ता बजगाँईले महिलाका सारा समस्याको निराकरण गर्नका लागि सार्वजानिक यातायातमा लगानी गर्ने व्यवसायीहरुले आवश्यक संरचनाहरु तयार पार्नुपर्ने सुझाव दिन्छिन् ।
लामो समयसम्म पिसाब रोकेर बस्दा मूत्राशय संक्रमण को जोखिम बढ्ने, मूत्र थैलीमा दबाब बढेर मृगौलामा असर पुग्ने, मूत्र थैली कमजोर हुने, जसले गर्दा पछि पिसाब नियन्त्रण गर्न गाह्रो हुन्छ, साथै लामो समयसम्म शौचालय नजादा पाचन प्रणालीमा समेत समस्याहरु हुनेसक्ने जोखिम छ । यसैगरी पेट दुख्ने र पेट फुल्ने समस्या हेमरोइड्स (पाइल्स) को जोखिम बढ्छ, आन्द्रामा जीवाणुको असन्तुलन हुने, टाउको दुख्ने, पेट भारी हुने र खाना रुचि नहुने, चिन्ता र तनाव बढ्ने, शरीरमा विषाक्त पदार्थहरू जम्मा हुने लगायतका समस्याहरु हुनसक्छन् ।