वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म

<span class='c1'>वर्ष २०२४ मा खेलकूदः माइक</span> <span class='c2'>टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म</span>

कमल कुमार बस्नेत/रासस
काठमाडौँ । वर्ष २०२४ मा विश्वका कैयौँ मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा उथलपुथल रहे । रुस–युक्रेनबीचको युद्ध जारी रहँदा इजरायलसँग हमासलगायतको युद्ध चर्चामा रह्यो, सिरिया र बङ्गलादेशमा भएका राजनीतिक आन्दोलनले वर्षभरी विश्व समुदायको ध्यान खिच्यो । त्यति मात्रै होइन, यी राजनीतिक उथलपुथलले धुव्रिकरणलाई बढावा दिए पनि खेलकूदले भने धेरैलाई एकै थलोमा उभ्यायो ।

वर्ष २०२४ मा खेलकूद निकै चर्चामा रह्यो । नेपाल राष्ट्रिय क्रिकेट सङ्घले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई विश्वका क्रिकेटप्रेमीको ध्यान आकृष्ट मात्रै गरेन । यसको अभूतपूर्व सफलताले नेपाली क्रिकेटको उन्नयनमा ठूलो सहयोग हुने अपेक्षासमेत गरिएको छ । विश्वप्रसिद्ध क्रिकेटर ब्रायन लारालगायतको उपस्थितिले एनपिएलको चर्चा अझ चुलियो ।

यसै वर्ष भारतले टी–२० किक्रेट विश्वकपको उपाधि चुम्यो । सन् २०२३ मा घरेलु मैदानमा एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्नबाट चुकेको भारतले अमेरिका र वेस्टइन्डिजमा भएको उक्त विश्वकपको उपाधि भने हात पार्‍यो । सोही प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई कडा टक्कर दियो । समूह चरणमा नेपाल जम्मा एक रनले पराजित भयो । सोही प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्धको खेलमा पनि राम्रो प्रदर्शन गरेको थियो ।

वर्षको अन्त्य र नयाँ वर्षको सुरुआतमा अष्ट्रेलियासँग पाँच खेलको टेस्ट शृङ्खला गुमाएपछि भारतले टेस्ट विश्वकपको फाइनल खेल्ने सपना भने पूरा भएन । प्रत्येक दुई वर्षमा हुने टेस्ट विश्वकपको उपाधिका लागि अब दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्नेछन् । यही वर्ष बङ्गलादेशले भारतलाई पराजित गर्दै यू–१९ क्रिकेट एसिया कप जित्यो ।

फूटबलप्रेमीका लागि पनि गत वर्ष रोमाञ्चक रह्यो । अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जित्दा सोही समयमा यूरोपमा भएको यूरो कपको उपाधि भने स्पेनले हात पार्‍यो । वर्ष २०२४ मा सम्पन्न इङ्लिस प्रिमियर लिगमा आर्सनललाई पराजित गर्दै म्यानचेस्टर सिटीले लगातार चौथो पटक उपाधि कब्जा गर्‍यो । साथै यूरोपियन च्याम्पियनको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले चुम्यो । त्यसका साथै रियलले स्पेनिस ला लिगा, अन्तमहादेशीय ‘यूइएफए सुपर कप’ र ‘स्पेनिस सुपर कप’ पनि जित्यो ।

वर्ष २०२४ मा प्रसिद्ध टेनिस खेलाडी राफेल नाडालले २० वर्षे खेल यात्राबाट विश्राम लिए । लामो समयसम्म टेनिसमा आफ्नो बलियो प्रस्तुति दिएका उनले डेभिस कपको क्वार्टरफाइनलमा हार बेहोरेपछि सन्यास लिए । उनले आफ्नो करिअरमा अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन, विम्बल्डन, यूएस ओपनलगायतका ग्राण्ड स्लाम २२ पटक हात पारेका थिए ।

गत वर्ष बक्सिङ पनि निकै चर्चामा रह्यो । विशेष गरी पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन र ज्याक पलबीचको प्रतिस्पर्धालाई विश्वका करोडौ खेलप्रेमीले प्रत्यक्ष हेरेका थिए । सन्यास जीवन बिताइरहेका ५८ वर्षे टाइसन १९ वर्षपछि व्यावसायिक खेल जीवनमा फर्किएका थिए । उक्त खेल नेटफ्क्लिसमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । डलास काउबोइजमा भएको उत्त खेलमा ७० हजार दर्शक उपस्थित थिए । खेल भने पलले जिते ।

गत वर्ष नै नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितिन् । कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक थियो । उनले के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कास्य पदक जितेकी हुन् । उनले सर्बियाकी मिचेभलाई १५–८ स्कोरले पराजित गरेकी थिइन् ।

यसैवर्ष अल्जेरियन फूटबलर युसेफ अतल गाजा स्ट्रिपबारे सामाजिक सञ्जालमा लेखेकै आधारमा आठ महिना जेल चलान भए । साथै उनलाई फ्रान्सको एक अदालतले ४५ हजार यूरो जरिवाना तिरायो । साथै दक्षिण अफ्रिकाका पूर्व पाराओलम्पियन ओस्कार पिस्टोरियसले ११ वर्षपछि पेरोल पाए । उनी प्रेमिकाको हत्यामा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका थिए । त्यसैगरी फ्रान्सकी पूर्व बास्केटबल खेलाडी एमिली गोमिसले इजरायलले गाजामा गरिरहेको आक्रमणको आलोचना गरेपछि पेरिस ओलम्पिकको एम्ब्यासडरबाट राजीनामा दिन बाध्य भइन् ।

यसैवर्ष अन्तर्राष्ट्रिय फूटबल महासङ्घ (फिफा)ले सन् २०२३ को उत्कृष्ट खेलाडीमा पुरुषतर्फ अर्जेन्टिनाका लियोनल मेस्सी र महिलामा बार्सिलोनाकी आइटाना बोन्माटीलाई घोषणा गर्‍यो ।

गत वर्षको फेब्रअुरीमा कतारले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दैै सन् २०२३ को एएफसी एसिया कपको उपाधि जित्यो भने आइभोरी कोस्टले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै सन् २०२३ को अफ्रिका कप जित्यो । यसैवर्ष अमेरिकाका बास्केटबल खेलाडी लेब्रोन जेम्स करिअरमा ४० हजार प्वान्टस् बटुल्ने इतिहासमा पहिलो खेलाडी बने । त्यसैगरी साउदी अरबको फूटबल क्लब अल हिलाल क्लबले २८ खेलमा जित निकाल्दै लगातार धेरै खेल जित्ने क्लब बन्यो ।

जो अस्ताए

विश्व खेलकूद जगतले यस वर्ष केही प्रसिद्ध व्यक्तित्वलाई गुमायो । वर्षको सुरुआत अर्थात् जनवरी ७ मा जर्मनीका फूटबल खेलाडी तथा म्यानेजर फ्राञ्ज बेकेबोउरको ७८ वर्षको उमेरमा निधन भयो । उन फिफा विश्वकप, यूरोपियन च्याम्पियन जित्ने थोरै खेलाडीमध्ये एक थिए । साथै म्याराथन विश्व कीर्तिमानी केन्याका धावक २४ केल्भिन किप्टुनको फेब्रुअरी ११ मा निधन भयो । उनले सन् २०२३ को अक्टोबरमा अमेरिकाका सिकागोमा भएको दौडमा दुई घण्टा ३५ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान कायम गरेका थिए ।

गत वर्षको अप्रिल १० मा फूटबल स्टार ओजे सिम्पसनको निधन भयो । अमेरिकी एथलेटिकमा सन् १९६० देखि ७० को दशकसम्म ‘द जुस’ उपनामले चर्चित ओजेको जीन विवादास्पद रह्यो । अमेरिकाका प्रसिद्ध बास्केटबल खेलाडी जेरी वेस्टको ८६ वर्षको उमेरमा जुन १२ मा निधन भयो । वेस्टले सन् १९६० देखि १९७४ सम्म नेशनल बास्केटबल एसोसिएसन (एनबिए)का खेलाडीका रुपमा राम्रो प्रदर्शन गरेका थिए ।

यसैवर्ष अफ्रिकन–अमेरिकन व्यावसायिक बेसबल खेलाडी विली मायसको ९३ वर्षको उमेरमा जुन १८ मा निधन भयो । त्यसैगरी स्पेनिस बाइक राइडर कार्लेस फाल्कोनको ४५ वर्षको उमेरमा निधन भयो । डाकर ¥यालीका क्रममा दुर्घटनामा परेका उनको आठ दिनपछि निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्