इन्दु साह
विराटनगर । जिल्ला सुरक्षा समितिले विराटनगरमा रात्रिकालिन होटल व्यवसाय तथा मनोरञ्जनात्मक व्यवसाय सञ्चालन शर्तहरु, २०८० को पालना नभएपनि यसको नियमन र कारबाहीमा पन्छँदै आएको पाइएको छ ।
जिल्ला सुरक्षा समितिले २०८० चैत १० गते शर्तहरु बनाएर रात्रिकालिन होटल व्यवसाय खुल्ला गरेको थियो । जसअन्तर्गत विराटनगरका ठूला र मध्यमस्तरका होटलहरु रात्रिकालिन रुपमा सञ्चालन हुँदै आएका छन् । तर, रात्रिकालिन होटल तथा मनोरञ्जात्मक व्यवसाय सञ्चालनका शर्तहरुको पालना भने कम मात्रै व्यवसायीहरुले पूरा गर्ने गरेको पाइएको छ ।
स्थानीय प्रशासनले सुरक्षाको प्रत्याभूत गराउने पर्ने रात्रिकालिन होटल व्यवसायको अनुगमनका लागि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलजिल्लास्थित प्रमुख राष्ट्रिय अनुसन्धानका अधिकृत, सम्बन्धित स्थानीय तहका अधिकृत, सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य महासंघका प्रतिनिधि र प्रमुख जिल्ला अधिकारीले होटल व्यवसायीकातर्फबाट तोकेका एकजना प्रतिनिधि हुने व्यवस्था शर्तहरुमा उल्लेख छ । तर, गृहमन्त्रालय अन्तर्गत रात्रिकालिन होटल व्यवसाय सञ्चालन मापदण्ड २०५५ अनुसार मोरङमा शर्तहरु बनाइएको थियो । तर, हालसम्म स्थानीय प्रशासनले भने खुल्ला छोडेका होटल तथा रात्रिकालिन मनोरञ्जनात्मक व्यवसायको एक पटक पनि अनुगमन नगरेको पाइएको हो ।
स्थानीय प्रशासनले आफैंले बनाएको शर्त अनुसार अनुगमन नगरेपछि विराटनगरमा महानगरपालिकाको अनुगमन टोलिले होटल, रेष्टुरेन्ट तथा गीतगजलको अवस्था निरीक्षण गरेको छ । अनुगमनका क्रममा अधिकांशले शर्तहरुको पालना नगरी सञ्चालन गरिरहेको पाइएको देखिएको छ । महानगरपालिकाको टोलिले नासा गीत गजल होटल एण्ड लज, सरगम गीत गजल, होटल ईनियन, रोयल विराट गीत गजल, रेगी होटल, परदेसी लजसहित रिदम गीत एण्ड गजल, होटल स्वीट एण्ड रेष्टुरेन्ट, द न्यू प्याराडाइज, स्टार लाइट होटल एण्ड लज डान्सबार, होटल रेडियन, किङ्ग डान्सबार, मट्रासिटी होटल, होटल न्यू ड्रिम नाइज फेमली, द बादसाह डान्सबार, नासा टु होटल रेष्टुरैन्ट, श्रीराम पार्टी प्यालेस एण्ड गीत गजल, होटल मुन प्रा.लि. होटल सेभेन इलेभेन गीतगजल, परदेशी लज, द भिन्तुना होटल, न्यू कोमल रेष्टुरेन्ट एण्ड सेकुवा घर, सिंहासन रेष्ट्रो प्रा.लि. अनुगमन गरेको थियो ।
अनुगमन भएकामध्ये रोयल विराट गीत गजल, स्टार लाइट होटल एण्ड लज डान्सबार, होटल न्यू ड्रिम नाइज फेमल, रेगी होटल बाहेकले स्थानीय तहमा व्यवसाय नविकरण समेत नगरी सञ्चालन गरिरहेको पाइएको छ । यसैगरी अधिकांशले सुरक्षा गार्ड नराखेको, कर्मचारीलाई पोशाक तथा परिचयपत्र उपलब्ध नगराएको जस्ता कमजोरी भेटिएका छन् । चालु आर्थिक वर्षको अर्धवार्षिक समय गुज्रदासम्म नविकरण नगरी व्यवसाय सञ्चालन हुँदा समेत स्थानीय तह तथा स्थानीय प्रशासन मौन देखिएका छन् । अझैकतिसम्म भने स्थानीय प्रशासनले स्थानीय तह विराटनगर महानगरपालिकालाई र स्थानीय तह विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको जिम्मेवारी रहेको भन्दै पन्छने प्रवृत्ति देखिएको छ ।
जिल्ला प्रशासन कार्यालयको रात्रिकालीन होटल तथा मनोरन्जनात्मक व्यवसाय संचालन शर्तहरु २०८० अनुसार स्थानीय प्रशासन आफैंले यसको अनुगमन गर्नुपर्ने र शर्तहरुको पालना नभए रात्रिकालिन होटल व्यवसाय सञ्चालनमा रोक लगाउनु पर्ने हुन्छ । तर, स्थानीय प्रशासनले भने यो स्थानीय तह विराटनगर महानगरपालिकाले नै गर्ने भनेर पन्छिदै गरेको छ ।
विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार केहि व्यवसायीले मात्र रात्रिकालिन व्यवसायीहरुले मनोरन्जन कर बुझाएका छन् । दर्ता नै नगरी समेत केहि रात्रिकालिन व्यवसाय संचालन भईरहेको जानकारी दिए । उनले पहिलो पटक गरिएको अनुगमनमा निर्देशन दिएर फर्किएकोले दोस्रो चरणको अनुगमनबाट स्थानीय सरकारको अधिकार क्षेत्र प्रयोग गरेर कारवाही गरिने बताए ।