काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
बुधबार भएको समूहचरणको अन्तिम खेलमा उपाधि दाबेदार अष्ट्रेलियासँग ८३ रनको फराकिलो हार व्यहोर्दै नेपालले विश्वकप यात्रा टुंग्याएको हो ।
मलेसियाको बाङ्गीस्थित यूकेएल क्रिकेट ओभलमा बुधबार भएको खेलमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको हो । यससँगै नेपालको प्रतियोगितामा यात्रा समाप्त भएको छ । समूह चरणमा नेपालले एउटा खेल पनि जित्न सकेन । अष्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ५६ रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान पूजा महतोले १८ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन्।
अष्ट्रेलियाका लागि हसरत गिल र जुलियट मोर्टनले २–२ विकेट लिइन् । यसअघि अष्ट्रेलियाले पूरै २० ओभर खेलेर ६ विकेटको क्षतिमा १३९ रन बनाएको थियो। अष्ट्रेलियाका लागि काइमोही ब्रेले ४५ रन बनाइन् । एलेनोर लारोसाले ३० रन बनाइन् । खेलको सुरुवाती ओभरमा नेपालकी कप्तान महतोले ३ विकेट लिएर अष्ट्रेलियालाई दबाबमा ल्याएपनि काइमोही र एलेनोरको ब्याटिङ नेपाललाई महँगो साबित भयो ।
नेपालका लागि पूजाले ३ विकेट लिइन् । पूजाले ४ ओभरमा रन खर्चेर ३ विकेट लिएकी हुन् । सीमाना केसीले लगातार २ विकेट लिइन् । उनले १७.१ र १७.२ ओभरमा विकेट लिइन् । रिया शर्माले १ विकेट लिइन् ।