-गीता अर्याल
तिमी सँगै हुँदा
अर्कै थियो
खुसी र सुखी भएको
आभास थियो
आशा र भरोसा थियो
माया खोज्नै पर्थेन
मुटु भित्र जताततै
मेरो लागि घर थियो
चहिएको थिएन
हिरामोती
तिम्रो साथ नै मलाई
गहना र जुहारत थियो
कतै अड्किन पर्दैनथ्यो बोल्नलाई
तिमी हुँदा सास र बतास
दुबै थियो
छोप्दैन होला जस्तो लाग्थ्यो
कुनै ज्वालामुखीले
पुर्दैन होला जस्तो लाग्थ्यो
कुनै भल पहिरोले
हल्लिन ज्यान जस्तो
लाग्थ्यो
भूकम्पले जति बेला तिमी साथ थियौ
अब अतीत भयौ
पानीको छाल जस्तो भयौ
किनाराले नै अड्काउने
भुल्न बाध्य पार्यौ
मन उदास बनाएर सबै
रोएर कराएर नहुने रहेछ
आँसुमा डुबेर पनि
नचल्ने रहेछ जीवन
अचानोको पिर
खुकुरीलाई थाहा नहुने रहेछ
तिमी साथ नहुँदा
गर्ल्यामगुर्लुम्म ढल्दो रहेछ
मेरो जीवन बाँच्ने
आश्थाको विशाल सगरमाथा
हो तिमी साथ नहुँदा
बिरानो लाग्दो रहेछ
यो मान्छे हरुको भीड
एकान्त लाग्दो रहेछ
शहरको भब्य कोलाहल
त्यसैले त भन्न मन लाग्छ
तिमी बाहेक यो संसारमा
कोही रहेनछ महान
आमा ,मेरी आमा।
काठमाडौं ।