-भूपाल अधिकारी
"राँगा गाडी खोलामा लस्किपछि।" हैट ! हैट गर्दै राँगाको पुच्छर घुमाउँदै र, लौरो ढाडमा बजार्दै होस्टेमा हैसै लगाउँदै थिए कालु र, शान्तेले।
केही बेरको होस्टे हैँसे पछि राँगाले पनि केही लौरो खायो । राँगाले बलजफ्ती लगाएर गाडी खोला पार गर्यो। समतल बाटोबाट बजार आईपुगे दुबैजना। मालिकले धान बेच्यो बजारमा र उनीहरूलाई गाडी भाडा दियो। चिया नास्ता खाई सकेपछि रामुले लुगा ल्याईदिनु बजारबाट भनेर पैसा दिएको छ भन्यो कालुलाई शान्तेले। दुवैजना बाटो किनारामा गाडी राखी राँगा त्यसमै बाँधेर बजार तर्फ गए । तर कुन लुगा भनेको थियो सम्झिँन् थाल्यो शान्तेले। गाडी न लस्किउन्जेल त लुगाको नाम मनमनै भन्दै आएको थियो उसले।
होस्टे हैँसे गर्दा भुसुक्कै बिर्सिए छ। धेरै सम्झियो दिमागमै आएन। पक्कै प बाट हो । अर्थात पुलिसको लुगा होला । बजारभरि चाहरे । कही भेटेनन् । अन्त्यमा हैरान हुँदै दुबै राँगा गाडी नजिक आए ।गाडीको जुवामा राँगा जोड्दै एक लौरो बर्साए । राँगा एकसुरले आफ्नो भार कम भएकोमा आनन्दित र, हलुको महशुस गर्दै गाउँतिर लाग्यो ।
गाउँलेका धान गहुँ आदि बजार ल्याईदिने काम गर्थे उनी हरू। र,बदलामा भाडा लिन्थेँ । साँझमा घर पुगेर गाडी खोली कालुको घर गयो शान्ते। तिमीले भनेको पुलिसको लुगा कही पाइएन।लेऊ तिम्रो पैसा भन्दै पैसा दिन थाल्यो। त्यतिबेलै कालुले भन्यो, "पुलिसको लुगा हो त पोलिस्टरको लुगा पो ल्याईदिनु भनेको थिए त।" "ए हो ?" बल्ल पो याद आयो भन्यो शान्तेले ।