विराटनगर । मोरङको धनपालथान कर्सियास्थित उमागौरी कृषि सहकारीको रकम अपचलन तथा ठगी मुद्दाका फरार अभियुक्त अध्यक्ष शम्भुप्रसाद रौनियार सोमबार अदालतमा उपस्थित भएका छन् । कानुन व्यवसायीलाई साथमा लिएर उनी अदालतमा उपस्थित भएका हुन् । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार उनको मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासमा बयानपछि थुनछेक बहस हुनेछ । बयानपछि बहस, त्यसपछि अदालतले आदेश गर्नेछ ।
ठगी मुद्दामा रौनियारसहित २६ जना विरुद्ध मोरङ अदालतमा मुद्दा दायर भएको थियो । यो मुद्दामा रौनियारसहित पाँच जना अदालत उपस्थित भएका छन् । एक जना पुर्पक्षको लागि थुनामा गएका छन् भने तीन जना धरौटीमा छुटेका छन् ।
यसअघि अदालतले सहकारीका सञ्चालक रोशन राजवंशीलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । पूर्वसञ्चालक सार्वजनिक लेखा समितिका सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलको पत्नी अञ्जला कोइराला र सन्तलाल खवास धरौटीमा छोडिएको छ ।
सहकारी ठगीको अनुसन्धान सुरु भएपछि आफू पनि पीडित भएको भन्दै निवेदन लिएर पुगेका राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सहकारी अनुसन्धानको क्रममा अन्य सञ्चालकहरू कसैलाई पनि पक्राउ गर्न चासो दिएन । अन्य २५ जनालाई फरार अभियुक्त करार गर्दै मंसिर २७ गते जिल्ला अदालतमा अभियोगपत्र दायर भएकोमा २८ गते न्यायाधीश न्यायाधीश अरुणकुमार झाको इजलासले राजवंशीलाई थुनामा राख्ने आदेश दिएको थियो ।
सहकारीमा ठगी प्रकरण हुनुभन्दा अगाडि सञ्चालाक समितिमा रहेका खवासलाई न्यायाधीश मेघनाथ चापागाईंको इजलासले पुस १८ मा ५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । उनी नेकपा एमालेबाट निर्वाचित रंगेली २ का वडाध्यक्ष हुन् ।
२६ पुसमा अदालमा उपस्थित भएकी कोइरालालाई न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गरेको छ । पीडितको जाहेरी, प्रहरीको अनुसन्धान प्रतिवेदन र अदालतमा दायर गरेको अभियोगपत्र अनुसार अञ्जला र राजवंशी सञ्चालक भएको समयमा सहकारीमा अनियमितता भएको देखिन्छ ।
बचतकर्ताहरूले जम्मा गरेको सहकारी संस्थाको जम्मा बिगो २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ २० पैसा आर्थिक हिनामिना गरेकोले सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिमको कार्य कसुर गरेकोले सजाय गरी पाउन समेतको मागदाबी लिई २६ जनाको विरुद्ध अभियोगपत्र दायर भएको छ ।