विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले करातेका खेलाडीहरूलाई बिदाइ गरेको छ ।
भारत सिक्किमको ग्यान्तोकमा आयोजना हुन लागेको ‘प्रथम सिक्किम खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५’ मा भाग लिन जाने टोलीलाई खेलकुद विकास बोर्डले बिदाइ गरेको हो ।
बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले एक कार्यक्रमका बीच प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक र टोली व्यवस्थापकको बिदाइ गरे ।
प्रदेशभरबाट प्रतियोगितामा ८२ जना खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने छन् । तीमध्ये मोरङको बुढीगंगामा रहेको न्यू सेप कराते एकेडेमीका २३ जना खेलाडी, टोलीको प्रशिक्षक प्रभाकर रानाको नेतृत्वमा ५ जना प्रशिक्षकलाई विराटनगरस्थित बोर्डको कार्यालयबाट बिदाइ गरिएको थियो ।
प्रतियोगितामा भाग लिने अन्य खेलाडी तथा प्रशिक्षकहरू झापाबाट जाने बताइएको छ । खेलाडीहरूलाई बिदाइ गर्दै सदस्यसचिव बस्नेतले अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागिताले खेलाडीमा आत्मविश्वास बढाउने हुँदा सहभागिता महत्वपूर्ण हुने बताए ।
उनले प्रदेशबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको र खेल खेलाडीहरूको क्षमता वृद्धि तथा प्रोत्साहन गर्न कुनै कसुर बाँकी नराख्ने बताएका हुन् ।