-ऋषि तिवारी
एक हातमा वडाको सिफारिस छ । टोलको घर घर हिड्दैछ । टोल टोलका मान्छेलाई देखाउँदैछ।
दिनेले दिए । नदिनेले त्यतिकै फर्काए । ऊ निन्याउरो भएर अघि बढ्थ्यो ।
मैंले विहानै देखि गेटको ताल्चा खोलेकै थिइनँ ।
ऊ आयो गेटमै । गेट घचघच गर्यो । आवाज सुनेर बाहिर निस्किएँ । उसले एउटा कागजको पन्ना बाहिरैबाट हल्लायो । समातेर हेरे । जाने बुझेको वडा नै रहेछ । भने पनि- 'तिम्रो वडामा एउटा पनि संक्रमित छैनन् त किन एसरी घर घर पैसा चन्दा उठाउँदै हिड्नु पर्यो ?' वडाको सिफारिस पढे । 'गरिब दुखिलाई जे दिनु मन छ दिएर सहयोग गरौं ।'
उसको मुखबाट -याल चुहिरहेको थियो । नाकबाट सिगानको बहाब पनि उस्तै । फेरि खोक्दै थियो । न मुखमा मास्क थियो । एउटा मैलो धैलो मास्क चिउँडामा मात्र अटाएको थियो । भन्यो- 'हाम्रो वार्डमा कसैले पनि टेष्ट गरेका छैनन् । त्यसैले कोरोना संक्रमित शून्य छ ।' मैंले भने- 'त्यसो भए के चाहियो त ?' उसले सहज जवाफ दिएको थियो । 'खानाको लागि चन्दा ।'
यो लकडाउनले गर्नु गरेछ विचरा । गोजिमा हेरे । सयको नोट थियो । पाँच रुपैयाँ मात्र दिऊ भनेको खुल्ला नै रहेन छ । 'भाई सयको खुल्ला छ ?' उसले छ भन्यो । 'खै लेऊ फिर्ता पन्चानब्बे रुपैयाँ यो सय लेऊ ।' उसले गोजिबाट कमसेकम थुप्रो पैसा निकालेको देखे । भनें फेरि, 'पैसामा पनि कोरोना होला भो भो फिर्ता चाहिदैन् । बरु लैजाऊ यो सयको नोट नै लैजाऊ ।'
ऊ मख्ख पर्यो भन्यो । 'म कोरोना संक्रमित मान्छे हुं ।'
विराटनगर-६, ममता-मार्ग ।