विराटनगर । मोरङको उर्लाबारीमा रहेको मोबाईल वल्र्ड पसलबाट २ सय थान आईफोन सहित अन्य कम्पनीका ४ सय मोवाईल चोरी भएको छ ।
उर्लाबारी नगरपालीका ७ का योगराज कार्कीले उर्लाबारी बजारमा संचालन गरेको पसलबाट सोमबार बिहान राति ३ करोडभन्दा बढीको मोबाइल चोरी भएको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी ५ मा रहेको मोवाईल वल्र्ड पसलमा अज्ञात समुहले रातको समयमा पसल फोडेर चोरी गरेको देखिन्छ ।
चोरीमा संलग्नको पहिचान हुन खुल्न सकेको छैन । चोरीको प्रकृति हेर्दा ठूलै गिरोह संलग्न रहेको अनुमान छ । पसलमा महँगा मोबाइलहरू रहेछन्। सबै मोबाइल चोरी भएका छन्। सटरको ताला फुटाएर चोरी गरिएको छ । चोरीमा संलग्नको पहिचान भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर घटनामा संलग्नको खोजी तीव्र पारिएको डिएसपी जोशीले बताएका छन् ।
चोरी भएका मोबाइलको संख्या र मूल्य प्रहरीले यकिन गर्न सकिरहेको छैन । पसल संचालक कार्कीका अनुसार एउटै मोबाइल २ लाख मूल्यसम्मका रहेको पाइएको छ । २ सय थान आईफोन र अन्य कम्पनीका ४ सय थान थिए ।
पसलमा सीसी क्यामेरा पनि थियो। तर, क्यामेराको फुटेजबाट चोरको पहिचान गर्न प्रहरीलाई गाह्रो परिरहेको छ। चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि इलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी मोहनविक्रम दाहाल र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट सइ चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालन गरेर खोजी कार्यलाई तिव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।