विराटनगर । देशव्यापी रुपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान विराटनगरको मदर्साबाट सुरु भएको छ ।
महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आज(मंगलबार) विराटनगर १७ स्थित असर्फिया मदर्सामा खोप अभियानको सुरुवात गरेकी हुन् ।
उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री हस्तान्तरण गरेकी थिइन् । त्यसपछि मदर्सामा अध्ययनरत छात्राहरुसँग खोप किन लगाउने ? भन्ने विषयमा कुराकानी गरेकी थिइन् ।
आज(मंगलबार) विश्व क्यान्सर दिवसको सन्दर्भ पारेर सुरु भएको अभियानमा मदर्साका २२ जना छात्रालाई खोप लगाइएको महानगर जनस्वास्थ्य निरीक्षक तथा खोप फोकलपर्सन यादव गौतमले जानकारी दिए । मदर्सामा २६ जना खोप लक्षित छात्रा रहेका थिए ।
सोमबार सरस्वती पुजा परेका कारण मंगलबार प्राय: विद्यालय बन्द रहे । बुधबारदेखि सबै वडामा खोप कार्यक्रम हुने जानकारी दिइएको छ । विद्यालयमा अध्ययनरत कक्षा ६-१० का छात्रा तथा विद्यालय बाहिरका १०-१४ वर्ष उमेर समूहका बालिका लक्षित खोप अभियान देशव्यापी सुरु भएको हो ।
विराटनगरमा १२३ विद्यालय, १९ वटा स्वास्थ्य संस्था, ३० वटा थप गरि १७२ केन्द्रमा खोप लगाइनेछ ।
जसमा कक्षा ६ मा अध्यनरत छात्रा २ हजार ६९९ जना, कक्षा ७-१० (छात्रा) ९ हजार ७२८ जना, विद्यालय बाहिर १० वर्षका बालिका ११० जना र ११-१४ वर्षका बालिका (विद्यालय बाहिर) दुई हजार सात जना गरि जम्मा १४ हजार ५४४ खोप लक्षित रहेका छन् ।
खोप लक्षित तथ्यांकअनुसार विराटनगरमा दुई हजार ११७ जना बालिका विद्यालय बाहिर देखिन्छन् । जो विद्यालय उमेर समुहका हुन् ।