काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ । आगो बल्नुको कारण त्यहाँका मेयर हुन् । जो पहिला नामुद तस्कर थिए र छन् । हाम्रो राजनीतिले तस्कर, विचौलियालाई नेता बनाउन खोज्यो र उसले आफ्नो पुरानो पेशा कहिले पनि छाड्न चाहेन । २०१० सालमा आजभन्दा ७१ वर्ष पहिला भारतीय नागरिकले गौरमा राइस मिल खोले । गौरमा ६ विघा जग्गा पनि छ । त्यो भारतीय नागरिक निःसन्तान थियो । पछि यही मेयरले २०५७ सालमा मिलको पार्टपूर्जा बेच्न लाग्दा प्रहरीले समात्यो । अहिले त्यही मेयरको मिलेमतोमा नक्कली भारतीयलाई खडा गरेर पर्साबाट नागरिकता दिलाएर, मोहियानी हक कायम गराएर, जग्गामा चलखेल गर्न खोजिरहेको छ ।’
उनले राइस मिलको छ विघा जग्गामा मेयर साहले आँखा लगाइरहेको बताए । उनले भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएर नक्कली मोही खडा गरी त्यसमा चलखेल भइरहेको बताए ।