इन्दु साह
विराटनगर।आज मार्च २०, ‘स्वस्थ मुखः सकारात्मक सोच’ भन्ने नाराका साथ विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाईएको छ।
आजको समयमा हामीले खाइरहेको खानाले दैनिक जसो दाँत तथा मुखमा विभिन्न स्वास्थ्य समस्याको सामना गरिरहेका हुन्छौँ। रोडशेष डेन्टलका संचालक तथा दन्त चिकित्सक शेखर मण्डलले दाँतमा हुने समस्याहरू र तिनको रोकथाम बारे जानकारी दिएका छन्। उनका अनुसार उपचारका लागि पुग्ने स्थानीयमा दाँत किराले खाने, दाँतको मासी सुन्निने (जिन्जिभाइटिस), दाँत हल्लिने, मुखको दुर्गन्ध र पायरिया जस्ता समस्याहरू देखिने गरेको छ।
दन्त चिकित्सक मण्डलका अनुसार दाँतमा हुने प्रमुख समस्याहरू भनेको दाँत किराले खाने (डेन्टल केरिज) हो। यस्तो समस्या हुनुको कारणः चिनी र कार्बोहाइड्रेटयुक्त खाना खाएपछि राम्ररी दाँत सफा नगर्दा दाँतमा जमेको प्लाकमा बाक्टेरिया बढ्छन् र तिनले उत्पादन गर्ने अम्लले दाँतको इनामेल नष्ट हुन्छ। यस्तो किसिमको समस्याबाट बच्न फ्लोराइडयुक्त टुथपेस्ट प्रयोग गरी दिनको कम्तीमा दुई पटक दाँत माझ्नुपर्छ। मिठाई तथा चिनीयुक्त खानाको सेवन सीमित गर्ने, डेन्टल सिलेन्ट लगाउने (विशेषगरी बच्चाहरूका लागि), नियमित दन्त परीक्षण गराउने गर्दा यसबाट जोगिन सकिन्छ।
अर्को दन्त समस्या हो जिन्जिभाइटिस। यसले दाँत वरिपरि जम्मा भएको प्लाकले गिजामा सुन्निने र रगत आउने समस्या निम्त्याउँछ। यसबाट बच्नेका लागि दाँतका बीचका भागहरू डेन्टल फ्लसले सफा गर्ने, एन्टिसेप्टिक माउथवाश प्रयोग गर्ने, पेरिओडोन्टल थेरापी गर्ने गर्नुपर्छ।
मुखको दुर्गन्ध पनि एक किसिमको समस्या हो। खराब मुख स्वच्छता, जिभ्रोमा ब्याक्टेरिया जमेर, पेरिओडोन्टल संक्रमण, धुम्रपान, आदि मुखको दुर्गन्धको कारण हो। यसबाट बच्नकालागि नियमित रूपमा जिभ्रो सफा गर्ने, प्रशस्त पानी पिउने, धुम्रपान र मदिरा सेवन कम गर्ने, प्राकृतिक माउथ फ्रेशनर जस्तै पुदिना, दालचिनी प्रयोग गर्ने लगायतका उपाय अपनाउन सकिन्छ।
दन्त चिकित्सक मण्डल भन्छन् दाँत हल्लिने (पायरिया) लाई पनि दाँतको समस्याको रुपमा लिईन्छ। दीर्घकालीन जिन्जिभाइटिस, पेरिओडोन्टल रोग, र दाँत समर्थन गर्ने हड्डीको क्षयले यो समस्या निम्तन्छ। यसबाट बच्नकालागि गहन पेरिओडोन्टल उपचार, स्केलिङ र रुट प्लानिङ, आवश्यक परेमा सर्जिकल उपचार, क्याल्सियम र भिटामिन डी युक्त खानामा जोड दिनुपर्छ।
विश्व मुख स्वास्थ्य दिवस हरेक वर्ष मार्च २० मा विश्वभर मनाइन्छ। यो दिवसले दन्त स्वास्थ्यप्रति जागरुकता बढाउँदै व्यक्तिगत स्वास्थ्य र सामाजिक विकासमा मुख स्वास्थ्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य राख्दछ।
फोटो:फाइल