विराटनगर । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैत १५ गतेसम्म आउँदा आगलागीका घटना दैनिक जसो हुँदै आएका छन् ।
चालु आर्थिक वर्ष २०८१/०८२ को चैत्र ६ गतेसम्म कोशी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार ७८४ स्थानमा आगलागी हुँदा ३ सय ३७ वटा घर प्रभावित भएको उल्लेख छ । यो अवधीमा आगलागी घटनामा परी ५ जना मानिसको मृत्यु भएको छ । भने ५८ जना मानिस घाईतेभएका छन् । यसैगरी एकहजार छ सय ८२ चौपायाको मृत्यु भएको छ भने ३ सय ३७ चौपायाँ घाईते भएको छन् । कुल क्षति ५३ करोड ९२ लाख ७५ हजार ९८० रहेको छ । प्रारम्भिक अनुमान अनुसार ५३ करोडभन्दा बढीको भौतिक सम्पत्ति क्षति भइसकेको छ ।
प्राकृतिक विपद् बाढी, पहिरो, हावा हुरी तथा आगलागी नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने दायित्व स्थानीय, प्रदेश र सङ्घ सरकारकै हुन्छ । सानोतिनो विपद्का घटना स्थानीय तहबाटै समाधान हुन सक्छन् भने मध्यमस्तरका विपद्को पूर्वतयारी गर्ने जिम्मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको हो । तर, कोशी प्रदेशमा भने आगलागीको मौसम सुरु भएर यति ठुलो क्षति भइसक्दा पनि सामान्य राहतका सामाग्रीबाहेक अन्य जोहो गरेको पाइदैन ।
सकेसम्म आगलागी हुन नदिने र भएको खण्डमा पनि छिटो नियन्त्रण गर्न नयाँ–नयाँ प्रविधिको विकास भएको छ । तर, नेपालमा भने आगलागी नियन्त्रणको पारम्परिक तरिकाहरू मात्रै छन्, त्यसको सेवा समेत चुस्त छैन । त्यसको पछिल्लो उदाहरण इटहरीको सेन्टर प्लाजामा आगलागी हुँदा उद्धारका लागि बोलाउने हेलिकप्टर कसले र कतिखेर बोलाउने भन्ने अन्यौलताबाट प्रष्ट हुन्छ । नयाँ प्रविधिको उपयोगमा प्रदेश सरकार चुकिरहेको छ । पहाडमा दमकल जान सक्दैन । त्यसठाउँमा फायर एक्सटिङ्ग्युसर, वाटर ब्याग, फायर बललगायत प्रयोग गर्न सकिन्छ । तर, ती सामान खरिद गरेर प्रर्याप्त पठाउने विषयमा प्रदेश सरकार जहिल्यै अल्झिरहेको छ ।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापनका वरिष्ठ शाखा अधिकृत सदानन्द भट्टराईले प्रदेशका खासखास सुरक्षा निकायलाई आवश्यक पर्ने केहि सामाग्री २०८० सालको भदौ र असोजमा हस्तान्तरण गरिएको जानकारी दिएका छन् । ती सामाग्रीमा फायर बल ६० वटा थिए । कोशी प्रदेश प्रहरी कार्यालयलाई २० र सशस्त्र प्रहरी बल नम्बर १ बराहा बाहिनी पकलीलाई ४० थान रहेका थिए । यसैगरी फायर एक्सटिङ्ग्युसर कोशी प्रदेश प्रहरीलाई १२ र सशस्त्रलाई २० थान असोजमा अनि भदौमा नेपाल प्रहरीलाई ३२ थान र सशस्त्रलाई ६० थान उपलब्ध गराएको थियो ।
त्यस बाहेक प्रदेश सरकारले प्रहरीलाई उपलब्ध गराएका सामान झारो टार्ने किसिमका मात्रै छन् । विपद्मा सबैभन्दा अग्रमोर्चामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना हुन्छन् । तर, उनीहरुसँग पर्याप्त सामान नहुँदा आगो नियन्त्रणमा समस्या हुन्छ । आगलागी भएको स्थानमा दमकल भन्दा पहिले पुग्ने सुरक्षाकर्मीसँग आगो फैलनबाट रोक्ने सामाग्रीमा पर्दछन् फायर एक्सटिङ्ग्युसर, फायर बल, वाटर ब्याग जस्ता सामाग्री । त्यसको सपोर्टमा हुने फायर ब्लाङ्केट, विभिन्न किसिमका डोरीहरु पर्दछन् । जस्तै स्टाटिक रोप, एस्सेन्डर रोप, डिस्सेडर रोप हुन् । साना तर महत्वपूर्ण मानिने सामान पनि प्रदेशभरीमा आवश्यक मात्रामा उपलब्ध हुने नसकेको तथ्यांकले नै पुष्टि गर्दछ ।
के के छन् प्रहरीसँग
त्यस बाहेक कोशी प्रदेशमा हाइड्रोलिक क्रेन दमकल एउटा पनि छैन । बहुतले भवनमा आगलागी हुँदा त्यसको नियन्त्रणका लागि हुने असजिलो कस्तो हुन्छ भन्ने कुरा इटहरीकै सेन्टर प्यालाले पुष्टि गरिसकेको छ । बहुतले भवनमा १२ वटा दमकलले तलबाट हानेको पानीको फोहोराले पाँचौ तलाको आगो नियन्त्रण लिन नसकेपछि क्रेन मगाएर त्यसमा बसाएर फायर मेनहरुलाई माथि पठाइएको थियो ।
आगोलागेको पाँचौं तला सिधा भएर दमकलको पानी छ्याप्दा मात्रै आगो नियन्त्रण सफल भएको थियो । कोशी प्रदेशमा बनेका बहुतले भवनमा आगलागी हुँदा आवश्यक पर्ने हाइड्रोलिक क्रेन दमकल जरुरी देखिसकेपनि प्रदेश सरकारले त्यसमा अहिलेसम्म चासो राखेको छैन । स्थानीय तहले त्यसमा चासो दिन स्रोतले सकिरहेका छैनन् । यतिसम्मकी कोशी प्रदेशको एक मात्रै महानगरपालिकासँग समेत एउटा अत्याधुनिक प्रविधिको दमकल छैन । यस्तै पछिल्लो प्रविधि भनेको ड्रोन पनि हो । ड्रोनलाई उडाएर पानी छिट्न सक्नेस्तरमा विकास भएपनि अहिलेसम्म त्यसको प्रवन्धमा कसैले चासो देखाएको छैन । प्रदेशका १३७ स्थानीय तहमध्ये ५६ स्थानीय तहसँग दमकल रहेको तथ्यांक रहेको छ ।