-राजनप्रसाद न्यौपाने 'श्रीयम'
कसैलाई
जहाजमा सररर
कसैलाई पसिना तररर
सुनेकै गीत
यथार्थ बनेर कालजयी बन्यो
नेपालमा
हुँदा खाने सधै दु:खी हुने
हुने खाने सधैं सुखी रहने
खानकै लागि जन्मेका
बाँचेकाहरुलाई
अहिले नेपाल रामराज्य
बाँच्नका लागि खान पर्नेहरुलाई
यहि नेपाल कंसको आतातायी
साम्राज्य
यो भिन्नता
यो असफलता
अनि केही भएन भनेर
कुर्ली रहने हामी
सत्तामा रथारोहण भएपछि
भुसुक्कै बिर्सने
फुटेका कुर्कुचा जोगाउने
हात्तीछाप चप्पल
पेटको आगो निभाउने
गुन्द्रुक र ढिडो
भुटेका मकै भाटमास
पुवा र सातु।
ए नेता जि
जनता नभए कसरी
को माथि शासन गर्नुहुन्छ
तपाईले जन्माएका जनता
होइन नि
बिर्सनु भएछ
गाउँमा कुखुरा चोरेको
काक्रो र निबुवा
सुन्तला बोट बाटै लुटेको
तिमी अलि सिपालु भनेर पो
जनताले नेता बनाएको।
बनाउनेले भत्काउने हिम्मत
गरे भने
तिमीसंग सबै पुरानो हिसाब किताब मागे भने
सक्छौ त देखाउन
संतुलन परिक्षण
वासलात जिन्दगीको
भो अब अति भो
धेरै नखोक
सर्छ टि बि भाइरस अरुलाई
पर्छन् थुकका छिटा अरुलाई
अब त मात्र
पखेका छन् जनताले
तिम्रो मलामी जाने दिन
कुरेका छन् त्यो शुभ समय
आँसु चपाएर
पीडा निलेर
पेट अघाएको छ खान्न पुग्यो भनेर
तिम्रा झुठा सपना।