सङ्गीता राई/रासस
धरान (सुनसरी) । जिल्लाको रामधुनी नगरपालिकासँगको सहकार्यमा रामधुनी थारु महिलासभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराएपछि यहाँका महिला आत्मनिर्भर बन्दै गएका छन् । आयआर्जनका साथै माहिलाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम दिइएको हो ।
रामधुनी–५ का सङ्गीता चौधरीले १५ वर्षदेखि सिलाइबुनाइ गर्दै आउनुभएकामा अहिले योसँगै ढकिया बुन्ने व्यवसाय सुरु गर्नुभएको छ । पहिले सीप अभावले काममा चुनौती र समस्या भए पनि पछिल्लो समय विभिन्न सङ्घसंस्थाले तालिम दिएपछि आफू आत्मनिर्भर हुनुका साथै अन्य महिलालाई प्रशिक्षक भएर सीप सिकाइरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले मैले महिलालाई ढकिया बुन्ने तालिम दिँदै आएको छु । महिलालाई आयआर्जनसँग जोड्दै आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको सहयोगमा यहाँको महिला सभा कार्यसमितिले ढकिया बुन्ने तालिम उपलब्ध गराउँदै आएको छ । जुन सीपले यहाँका धेरै महिला आत्मनिर्भर बनिरहेका छन् ।”
ढकिया विशेष गरेर थारु समुदायमा अत्यधिक प्रयोग गरिन्छ । पूजा, विवाह, पाटीलगायत कार्यक्रमदेखि मृत्यु संस्कारमा पनि ढकियाको प्रयोग गरिने भएकाले यसको व्यवसायबाट महिला स्वरोजगषर बन्दै गएका सङ्गीताले बताउनुभयो । पहिले थारु समुदायका सबै महिलाले बुन्ने गरे पनि पछिल्लो समय यो चलन हराउँदै गएको भन्दै उहाँले थारु परम्परा र संस्कृतिसँग जोडिएकाले पनि यसलाई संरक्षण र प्रवर्द्धन गर्न तालिम दिँदै आइएको उहाँले उल्लेख गर्नुभयो ।
सङ्गीताले अहिले १२ भन्दा बढी किसिमका ढकिया बुन्न थालेको जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ बनेका ढकिया दमक, झापा काठमाडाँै, धनकुटा, मोरङ र सुनसरीका विभिन्न ठाउँमा जाने गरेको छ । उहाँले भन्नुभयो, “यसबाट आम्दानीको यकिन हिसाब भने हुँदैन तर यो व्यवसायले घरखर्च टार्न र महिलाका निजी आवश्यकता पूरा गर्न पुग्छ ।’
ढकिया बुन्ने तालिमपछि यहाँबाट प्रशस्त आम्दानी गर्न सकिने रहेछ भनेर मलाई आत्मविश्वास बढेको छ रामधुनी–५ का निलम चौधरीले बताउनुभयो । “पहिले मलाई ढकिया बुनेर पनि आम्दानी हुन्छ भन्ने लागेको थिएन । पछिल्लो समय यसको प्रयोग अत्यधिक बढ्न थाल्यो । विभिन्न कार्यक्रममा मायाको चिनोदेखि लिएर चाडपर्वमा यसको प्रयोग हुने भएपछि तालिम लिएर आम्दानीसँगै स्वरोजगार बनेकी हुँ ।”
आफूले बुनेका ढकिया झापा र सुनसरीका विभिन्न ठाउँबाट माग हुने गरेको निलमको भनाइ छ । उहाँका अनुसार रु पाँच सयदेखि रु चार हजारसम्ममा ढकिया बिक्री हुने गर्दछ ।
सोही ठाउँकी कञ्चन चौधरीले एक वर्षदेखि ढकिया बुन्न सुरु गरेको सुनाउनुभयो । “यसका बारेमा केही ज्ञान पेसा पुर्खाहरूबाट जानेकी थिएँ । यो हाम्रो संस्कृतिसँग पनि जोडिएकाले यसलाई जोगाउनु, संरक्षण गर्नु पछिल्लो पुस्ताको कर्तव्य भएकाले तालिम लिएर व्यावसायिक पेसा बनाएकी हुँ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार प्रत्येक वर्ष नगरपालिकाको सहयोगमा यहाँ महिला केन्द्रित भएर ढकिया बुन्ने तालिम सञ्चालन हुन्छ । यस्ता सीपमूलक तालिम अन्य क्षेत्रमा पनि आए महिला थप आकर्षित हुनुका साथै रोजगारीका नयाँ अवसर सिर्जना हुने उहाँको भनाइ छ ।
कञ्चनले महिनामा १० वटाभन्दा बढी ढकिया बुन्न सकिने बताउँदै कहिले सोभन्दा बढी माग पनि आउने गरेको उल्लेख गर्नुभयो । “बढी माग हुँदा रातभर बुनेर पूरा गर्नुपर्छ । ढकिया बुन्न सके बिक्रीका लागि बजारको अभाव भने हुँदैन । ढकिया विभिन्न किसिम र आकारमा बुन्न सकिन्छ । दौरा, मना, धमालगायतको माग बढी आउने गर्दछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ढकियामा धागो, मोती, कासको प्रयोग हुन्छ ।
“धागो र मोती हामीले खरिद गर्नुपर्छ । कास भने कोशी किनारमा प्रशस्त पाउन सकिन्छ । त्यहीँबाट लिएर आउने गरेका छौँ”, कञ्चनले भन्नुभयो । यस सीपलाई फुर्सदको समय सदुपयोग गरी काममा लगाउँदा जीविकोपार्जनमा सहयोग पुग्ने उहाँको अनुभव छ । अहिले रामधुनी–५ मा मात्रै ढकिया बुन्ने महिला एक दर्जन बढी छन् ।