आकांक्षा धामी/नेपाल न्यूज बैंक
काठमाडौं । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्याएको छ ।
फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।
एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।
चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा शुरुको दृष्यहरुले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।
हुन त कोमल मन भएका दर्शकहरु साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरु छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँशु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरु एकाएक आँसु बग्छ ।
आखिर कथा कस्तो छ ?
राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथाबस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत् गरिएको छ ।
जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको ईच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरुलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।
चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरुलाई सरल ढंगले प्रस्तुत् गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरु पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।
फिल्मको उत्कृष्ट पक्ष
असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।
सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।
‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।
कमजोरीहरू र चुनौतीहरू
फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।
पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।
कलाकारहरूको प्रदर्शन
दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।
एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।
काठमाडौंको संघर्ष
एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन एन्जिलालाई त्यती सहज भएन ।
काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो । यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।
यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।
चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरु चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।
निष्कर्ष
समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।
चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।