विराटनगर । इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भीषण आगलागी भईरहेको छ ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको पाँचौं तलामा भीषण आगलागी भएको हो ।
आगलागी सुरु भएको फ्ल्याटमा होटल बरन्डा सञ्चालनमा थियो । उक्त होटलबाट आगलागी सुरु भएको प्रहरीको भनाइ छ । ‘१० तले भवनको पाँचौं तलाबाट आगलागी सुरु भएको छ । आगो नियन्त्रणमा लिन समस्या भइरहेको छ,’ प्रहरीले भन्यो । भवनको माथिल्लो तलामा भएकाहरु आत्तिएर चिच्याइरहेका छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो लागेको सूचना पाउना साथ नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् । विभिन्न ठाउँबाट पुगेका दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो निभाउनका लागि १० वटा दमकल परिचालन गरिएको छ । यद्यपि आगो नियन्त्रणमा आउन नसकेको जनाइएको छ । पाँचौँ तलामा आगो लागेपछि अहिले ग्यासका सिलिण्डर पड्किरहेको र फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याउने काम भइरहेको छ । आगलागीको कारण खुल्न सकेको छैन । आगो तत्काल नियन्त्रणमा लिन नसके ठूलो क्षति हुने सम्भावना रहेको प्रहरीको भनाइ छ ।
भवनभित्र फसेका मानिसको सकुशल उद्धारसहित यथासक्य छिटो आगो नियन्त्रण गर्न सघाउ पु¥याउने उद्देश्यले अहिले नेपाली सेनाको हेलिकोप्टर पठाइएको गृहमन्त्रालयले जनाएको छ ।