-म्यामराज राई
“म त छक्क पर्छु । भर्खर तेह्र र पन्ध्र वर्षका भए । जति उमेर बढ्दैछ, त्यति नै टाढिन खोज्छन् मेरा छोराछोरीहरू ।” गजेन्द्रनारायणले सहोदरसित पारिवारिक विषयमा बिलौना गर्यो ।
“के भो र, त्यस्तो ?” भाईको कुरोमा रामनारायणले चासो देखायो । “छोरा र छोरी दुवैजना मदेखि परपरै मात्र हुन्छन् । खुलस्त बोल्दैनन् । उनीहरूको आमासित समेत त्यति खुल्दैनन् । मागे जति सबै पुराइदिएकै छु । उनीहरूकै लागि त घामपानी केही नभनी खेतबारीमा भाग्य खोजिरहेछु ।” गजेन्द्रनारायणले आफ्नो समस्याको पोको खोल्यो । “तिमीले पेशाको कुरो घरमा पनि ल्यायौ नि त । जोईपोइमा झगडा गरिरहन्छौ । आक्कलझुक्कलमा यहीँबाट सुनिरहेको हुन्छु ।” दाईले आफ्नो मूल्याङ्कन ओकल्यो ।
“अङ्कल चिया लिनुहोस् । बाबाले पनि लिनुहोस् ।” देवेनले चिया ल्यायो । ऊ पनि त्यहीँ बसेर चिया पियो । उसकी बहिनी देविका समेत भान्साकोठाबाट आफ्नो चिया भाग ल्याइन् । बुवाको आडमा बसिन् ।
शनिबारको पारिलो बिहान थियो । रामनारायणको कौसीमा दाजुभाइ चिया गफमा थिए । पेशाले गजेन्द्रनारायण किसान र रामनारायण प्राध्यापक ।
“लौ न दाजु, बुवापछिको जेठोबाठो तपाई नै हुनुहुन्छ । केही उपाय त सुझाउनु पर्यो । तपाईसग यतिकै झुमिदारहेछन् यिनीहरू ।” भतिजो र भतिजीतिर औॅंलाले देखाउदै गजेन्द्रनारायणले समाधानको बाटो खोज्यो ।
रामनारायणले लामो सास तान्दै सहोदरलाई सुझायो, “हेर, कान्छा ! पेशाको विषय घरमा र पारिवारिक विषय पेशामा कदापि मिसाउनु हुँदैन । दोस्रो कुरो, किशोरावस्था प्रवेश गरेका आफ्ना सन्तान छोराछोरीको सम्बन्धभन्दा बढी साथीको रूपमा व्यवहार गर्नुपर्छ ।
हतुवागढी-६, होम्ताङ्, भोजपुर
(हाल:-जापान)