विराटनगर । इलाममा श्रीमतीको हत्या आरोपित २५ वर्षीय उमेश गिरीलाई प्रहरीले सार्वजनिक गरेको छ। गिरीविरुद्ध १९ वर्षीया श्रीमती विमला कट्टेलको हत्या गरेर गाडेको आरोप छ ।
इलामको फाकफोकथुम गाउँपालिका–३ का गिरीले गत फागुन २९ गते राति घरबाट केहि पर श्रीमतीको हत्या गरेको खुलेको छ । मुक्का प्रहार गर्दा श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेको उनले बयानमा खुलाएका छन् । इलामका प्रहरी उपरीक्षक एकनाथ कोइरालाले घटना बारे जानकारी दिदैं एक्साभेटर चालक गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको बताएका छन् ।
फाकफोकथुम–२, धार्नेखोपको दाहाल गोलाईमा कच्ची सडकमा खाल्डो खनेर पुरेको अवस्थामा विमलाको शव फेला परेको थियो । विमलाको शव उत्खनन गरेर पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। हत्या गरिएकी उनी गर्भवती रहेको बताइएको छ । यद्यपी पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने एसपी कोइरालाले बताएका छन् ।
विमला बेपत्ता भएको भन्दै उनका ससुरा कृष्णलाल गिरीले प्रहरीमा निवेदन दिए पछिमात्र उनको खोजी गर्ने क्रममा हत्या गरिएको खुलेको हो। उमेशविरुद्ध कतव्र्य ज्यान मुुद्दामा अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ।