-स्वस्तिका काफ्ले
आज विश्व अटिजम जागरूकता दिवस हो। तर, यो जागरूकता केवल आज वा अप्रिल महिनासम्म सीमित हुनुहुँदैन। अटिजम बारे चेतना हरेक दिन, हरेक महिनामा फैलिनुपर्छ। मात्र चेतना फैलाएर मात्र पुग्दैन, हामी सबैले अटिजमलाई आत्मसात् गर्दै यसलाई व्यवहारमा उतार्नुपर्छ।
कसैको बच्चा अटिस्टिक (अटिजम भएको) वा न्यूरोडाइभर्स छ भन्ने कुरा कुनै अभिभावकले लाज वा संकोच मान्नु पर्दैन। हाम्रा यी विशेष बालबालिकाहरू फरक अवश्य छन्, तर त्यसो भन्दैमा तिनलाई गर्ने व्यवहारमा भेदभाव हुनुहुँदैन।
माया र अपनत्वमा कुनै कमी आउनुहुँदैन। यी बालबालिका पनि हामीकै समाजका एक हिस्सा हुन्, यही देशका नागरिक हुन्। त्यसैले तिनको लागि उपयुक्त विद्यालय, अस्पताल, थेरापी केन्द्र तथा अधिकारको सुनिश्चितता राज्यको पनि जिम्मेवारी हो। हाम्रा यी बालबालिकालाई आत्मनिर्भर बनाउनु अभिभावक मात्र होइन, समग्र समाज तथा राष्ट्रकै कर्तव्य हो।
संसारभर अटिजम भएका व्यक्तिहरूले ठूलो योगदान दिएका छन्। उदाहरणका लागि, अल्बर्ट आइन्स्टाइन पनि न्यूरोडाइभर्स थिए भन्ने चर्चा छ। सम्भव छ, हाम्रो आफ्नै देशमा पनि यस्ता प्रतिभाशाली व्यक्ति जन्मिएका होऊन्, जसलाई उचित अवसर मिल्न सकेको छैन।
त्यसैगरी, न्यूरोटिपिकल (सामान्य रूपमा विकसित) बालबालिकाका अभिभावकहरूलाई मेरो अनुरोध छ— तपाईहरूका छोराछोरीलाई पनि अटिजम तथा अन्य न्यूरोडाइभर्सिटी बारे सिकाउनुहोस्। तिनीहरूलाई यी बालबालिकालाई माया गर्न, बुझ्न, सहयोग गर्न प्रेरित गर्नुहोस्।
जसरी इन्द्रेणीका रंगहरू फरक-फरक हुन्छन्, त्यसरी नै हाम्रा अटिजम भएका बालबालिकाहरू पनि फरक विशेषता बोकेका हुन्छन्। कोही अलिकति अल्मलिए जस्ता देखिन सक्छन्, कोही एकदमै चम्किला हुन सक्छन्, त कोही अझै रंगीन बन्न खोजिरहेका हुन सक्छन्। त्यसैले, आजैदेखि उनीहरूलाई अझै मजबुत बनाउन, अझै धेरै माया दिन, र उनीहरूको उज्जवल भविष्यका लागि हातेमालो गर्न सुरु गरौँ।