विराटनगर । तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका एक जना थुनुवा इटहरीबाट आज(शुक्रबार) दिउँसो फरार भएका छन् ।
प्रहरीका अनुसार ठगी मुद्दाका सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएका हुन् । भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्षीय डम्बरबहादुर लिम्बूविरुद्ध तेह्रथुमकै इलाका प्रहरी कार्यालय वसन्तपुरले ठगी मुद्दा चलाएको थियो । तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेका अनुसार भुजेल र लिम्बू मिलेर २ जनाको ८ लाख ५३ हजार रूपैयाँ ठगी गरेका थिए । १ जनाको ६ लाख ६७ हजार र अर्का १ जनाको १ लाख ८६ हजार रूपैयाँ ठगी गरेको पाइएको उनले बताए ।
पीडितलाई पैसा बुझाएर मेलमिलाप भएपछि सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसपछि लिम्बूलाई भने जिम्माजमानीमा छाडिएको डीएसपी लामिछानेले बताए । तर, फागुन २७ गते भोजपुरबाट पक्राउ परेका ठगी मुद्दाका अभियुक्त भुजेलविरुद्धको अर्को मुद्दा काठमाडौंमा जीवितै थियो ।
‘सीआरएस अध्ययन गर्दा लिम्बूविरुद्ध अन्तबाट मद्दा नचलेको पाइयो । त्यसपछि आफन्तको जिम्माजमानीमा छाडियो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, भुजेलविरुद्ध अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरो काठमाडौंमा मुद्दा दर्ता भएको रहेछ । प्रहरीले अनुसन्धान सकेसँगै २०८० सालमा काठमाडौं अदालतमा मुद्दा दर्ता भएको पाइयो ।’ काठमाडौं अदालतमा उपस्थित गराउनुपर्ने अभियुक्त भुजेललाई तेह्रथुमबाट प्रहरीले काठमाडौं लैजाँदै थियो ।
अदालतको नजरमा फरार अभियुक्त रहेका उनी काठमाडौं लैजाने क्रममा इटहरीबाट फरार भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार काठमाडौं पुर्याएर साइबर ब्युरोको जिम्मा लगाउने तयारी थियो । असइ नेत्रप्रसाद बास्तोला र हवल्दार नवीनकुमार रायले भुजेललाई सार्वजनिक सवारीसाधनमा काठमाडौं लिएर गएका थिए ।
इटहरीबाट अर्को गाडी परिवर्तन गर्नुपर्ने थियो । इटहरीबाट रात्रि बसमा लैजाने तयारी थियो । गाडी परिवर्तन गर्ने क्रममा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्याएर भुजेल फरार भएको जानकारी डीएसपी लामिछानेले दिए ।
‘काठमाडौं लैजाँदै गरिएका थुनुवा प्रहरीको आँखा छलेर भागेका हुन्,’ उनले भने, ‘कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरीलगायतका विभिन्न प्रहरी कार्यालयसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ ।’ खोजी जारी राखिए पनि फेला पार्न नसकिएको बताउँदै लामिछानेले कोही कसैले देखेमा प्रहरीलाई खबर गरिदिन सबैमा आग्रह गरेका छन् ।
भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा एक लाख ९० हजार बिगो मागदाबीसहित ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरोले उनीविरुद्ध काठमाडौंमा मुद्दा चलाएको थियो ।