नेपालमा दशकौँदेखि राजनीति, तन्त्र, र व्यवस्थामा बहस हुँदै आएको छ। विगतमा हामी धेरै चोटि वाद र तन्त्रका बीचमा फस्न पुगेका छौँ। नेताहरूको आलोचना गर्ने चलन राम्रैसंग जरा गाडिसकेको छ, तर के हामी जनता आफैं सच्चिने प्रयास गर्दैछौं? केवल नेताहरूलाई गाली गरेर मात्र परिवर्तन सम्भव छ? कि हामीले पनि आफ्नो सोचाइ फेरि अनुशासित नागरिक बन्ने समय आएको छ?
नेपालमा लोकतान्त्रिक शासनको संघर्ष लामो र कठोर रह्यो, र आज हामी गणतन्त्रको अवस्थामा पुगिसकेका छौँ। तर, त्यो प्रश्न अझै उभिएको र अहिले जल्दोबल्दो छ – राजतन्त्र कि गणतन्त्र? आजको समयमा यो प्रश्न महत्त्वपूर्ण छ, तर यसलाई जवाफ दिनु भन्दा पनि, हामीलाई आफूमा साँचो परिवर्तन ल्याउन आवश्यक छ। राजतन्त्र होस् या गणतन्त्र, अन्ततः प्रभावकारी नेतृत्व र इमानदार नागरिकको अभावमा कुनै पनि शासन व्यवस्था सफल हुन सक्दैन।
हाम्रो देशमा अहिले नेतृत्वको आवश्यकता छ, जुन सक्षम र इमानदार होस्। जसले केवल आफूलाई र आफ्नो पार्टीलाई मात्र होइन, सम्पूर्ण देशको भलो चाहन्छ। हामीले देखेका छन्, कति नेता जनता बीचमा लोकप्रिय हुन्छन्, तर उनीहरूको नेतृत्वको चरित्र र कार्यक्षमता समयसँगै परीक्षण गर्नुपर्छ। नेताहरूको इमानदारी र कार्यदक्षतामा कुनै सम्झौता नहुनु जरुरी छ। त्यही कारण हो कि आज हामीलाई इमानदार नेताको खाँचो छ। तर, यो केवल नेताको जिम्मेवारी मात्र होइन, हामी जनताका लागि पनि एउटा चुनौती हो – हामीले इमानदार र सक्षम नेतृत्वको माग गर्नुपर्छ, र यो कुरा हामी आफ्नो हरेक कार्य र व्यवहारमा देखाउनु पर्छ।
हामीले नेताले भनेको कुरालाई बिना सोच-विचार स्वीकार्ने पुरानो बानी हटाउनै पर्छ। इतिहासमा गणेशमान सिंहले नेपाली जनतालाई "भेडा" भनेको कुरा चर्चित छ। तर अब हामीले यो सोचलाई गलत साबित गर्नुपर्छ। सहीलाई सही र गलतलाई गलत भन्न सक्ने हिम्मत राख्नुपर्छ। नेताहरूको पछि लाग्ने होइन, उनीहरूलाई जवाफदेही बनाउने संस्कार विकास गरौं। राजनीतिक चेतना अभिवृद्धि गर्दै जनताको सोचाइ परिष्कृत बनाउनु आजको आवश्यकता हो। जब हामी केवल नेताको पछी लाग्ने कार्यमा अडिग रहन्छौं, तब हाम्रो सोचमा स्वतन्त्रता र आलोचनात्मक दृष्टिकोणको कमी आउँछ। यसले हामीलाई सहि निर्णय लिनबाट रोक्दछ। हाम्रो समाजमा लामो समयदेखि एउटा प्रवृत्ति चलिआएको छ – कुनै नेता वा सार्वजनिक व्यक्तिको पछी लाग्नु। यो केवल राजनीतिक क्षेत्रमै होइन, हरेक क्षेत्रमा फैलिएको छ। नेताले जे भने, हामी त्यसै पछि लाग्ने, जे गरेका छन्, हामी त्यसै गर्ने। नेताहरूसँग असहमत हुन र स्वतन्त्र सोच राख्नुलाई हाम्रो समाजले प्रायः अपमानको रूपमा लिन्छ। तर यो सोच अहिले बदल्न आवश्यक छ। हामीलाई बुझ्नुपर्छ कि कुनै नेता सधैं सही हुँदैन। उनका विचार र निर्णयको आलोचना गर्नु हाम्रो अधिकार हो। यसरी, हामीले अन्धभक्ति र अन्ध समर्थनको संस्कृति छोडेर, नेताले के भने र के गरे भनेर सोच्न र आत्मनिर्भर सोचको निर्माण गर्नु पर्दछ।
चुनावमा जात, धर्म, क्षेत्र वा व्यक्तिगत स्वार्थका आधारमा नभई इमानदार र सक्षम व्यक्तिलाई समर्थन गरौं। सानो-सानो प्रलोभनमा नपरी देशको भविष्य सोचेर मतदान गर्ने बानी बसालौं। हामीले योग्य नेतृत्व छान्न सके मात्रै देशको सही दिशा तय हुन सक्छ। चुनावका बेला थोरै आर्थिक लाभ वा आश्वासनमा बिक्ने प्रवृत्तिलाई परास्त गर्नुपर्छ। जनताले नै चेतनशील भएर निर्णय नगरेसम्म हामीले राम्रो सरकारको कल्पना गर्न सक्दैनौं।
सरकारी निकायमा काम गराउँदा घुस दिने पुरानो प्रवृत्ति हटाउनु आवश्यक छ। यदि कसैले गैरकानुनी रूपमा घुस माग्छ भने खबरदारी गर्ने, उजुरी गर्ने वा सार्वजनिक गर्ने संस्कार विकास गरौं। नागरिक पत्रकारिताको माध्यमबाट भ्रस्टाचारको भण्डाफोर गरौं। सही सूचना प्रवाहमार्फत जनतामा चेतना जगाउने प्रयास गरौं। जबसम्म हामी आफैं सचेत भएर भ्रष्टाचारको विरोध गर्दैनौं, तबसम्म देशको समृद्धि सम्भव हुँदैन। भ्रष्टाचारलाई जरैदेखि उखेल्न सबै नागरिकले एकजुट भएर आवाज उठाउनुपर्छ।
विदेशमा रहेका नेपालीहरूले देशलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बारे गम्भीर सोच्नुपर्छ। केवल आलोचना गरेर होइन, लगानी, सीप, प्रविधि तथा अनुभवमार्फत देशलाई योगदान दिने बाटो खोज्नुपर्छ। प्रवासी नेपालीहरूले आर्जेको सीप र ज्ञान देशभित्र प्रयोग गर्ने वातावरण तयार गर्नुपर्छ।
हाम्रो समाजमा युवाहरूलाई बाल्यकालदेखि नै राष्ट्रप्रेम, अनुशासन, र जिम्मेवारीबोध गराउन जरुरी छ। जब जनता अनुशासनमा बस्छन्, तब नेतृत्व पनि गलत गर्न सक्दैन। गलत काम गर्ने जुनसुकै व्यक्ति वा निकायको सबैले खुलेर विरोध गर्नुपर्छ। युवा पुस्ताले सामाजिक जिम्मेवारीको बोध गरेर समाज सुधारको अभियान चलाउनुपर्छ।
हामी सधैं नेताहरूलाई दोष दिएर बस्न सक्छौं, तर हामी आफैं सुधारिएनौं भने नेतृत्व पनि कहिल्यै सुधारिँदैन। सामाजिक अनुशासन, नैतिकता, इमानदारी, र देशप्रेमको भावनाले भरिएको नागरिक समाज निर्माण गरे मात्र हामीले समृद्ध नेपाल निर्माण गर्न सक्छौं।
अब समय आएको छ, जनता आफैं सच्चिने कि? परिवर्तन केवल नारामा सीमित राख्ने कि वास्तविक जीवनमा लागू गर्ने? यो प्रश्न हरेक नेपालीले आफ्नै मनमा सोध्नुपर्छ।