विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षसम्म पर्यटक भित्र्याउने विभिन्न गतिविधि हुनेछन् ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार वर्ष तयार गर्न यो पर्यटन वर्ष घोषणा गरिएको बताएका छन् । कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पुजी निर्माण गरिने उल्लेख गरेका छन् ।
स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिवद्धता जनाएका छन् । सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले सबै जातजाति ,धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पारे । पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै उनले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने बताए ।
कोशी प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै यहाँ भएको समस्या वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे । यी समस्याहरु समाधान गरेमा पर्यटन प्रवर्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जान सक्ने उनले स्पष्ट पारे ।
सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको औल्याउँदै मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको बताए । नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने उनको भनाई छ ।
प्रदेशमा बाराह क्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै उनले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए । पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गरे।