विराटनगर । गत मंसिरमा प्रहरीले सुनसरी हरिनगरा–६ का नमाम अन्सारीलाई पक्राउ ग¥यो । उनी विराटनगरसहित पूर्वका शहरमा मोटरसाइकल चोरी गर्ने पेसा नै अंगाल्थे । प्रहरीले छ महिनादेखि उनको गतिविधि विराटनगरमा निगरानी गरिरहेको थियो । विभिन्न स्थानको सिसी टिभी फुटेजको विश्लेषण गर्दा नमाजसहित चारजना विराटनगरमा मोटसाइकल चोरी गर्ने मुख्य समूहको रुपमा प्रहरीले ठहर ग¥यो ।
तर, समूहमा रहेका चारजनामध्ये एकजना मात्रै पक्राउ परेपछि प्रहरीले उनलाई सार्वजानिक गरेन । उनीहरुले चोरी गरेका चारवटा मोटरसाइकल समेत बरामद गरेको थियो । अनुसन्धानपछि उसलाई सरकारी वकिलको कार्यालयमार्फत अदालतमा चोरी कसुरमा मुद्दा दर्ता भयो । त्यसपछि प्रहरी आफैंले अदालतमा पुगेर ‘यसलाई थुनिदिनु प¥यो श्रीमान्, यसले विराटनगरमा मोटरसाइकल चोरेर हैरान पा¥यो’ भन्ने आग्रह समेत गरेको थियो । अदालतले उसँगै चोरीमा संलग्न आरोपी थप तीनजना पक्राउ पर्न बाँकी रहेको देखिएपछि पाँचलाख धरौटी माग गरेको थियो । नजाम त्यहि रकम समेत धरौटी राखेर छुट्न खोजिरहेका बेला अर्को मुद्दामा दोषी ठहर भई कारागार चलान भएको पाइएपछि उनी थुनिए ।
नमाज अहिले मोरङ कारागारमा छन् । मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीका अनुसार उनै नजाम २०८० सालमा समेत मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेर अदालतबाट धरौटीमा छुटेका थिए । त्यसपछि उनले गरेको अर्को ठगी सम्बन्धि कसुरमा उनी दोषी ठहर भएकाले यस पटक भने चोरीमा छुट्न खोज्दाखोज्दै कारागार चलान हुनु परेको हो । प्रहरीले विराटनगरमा चोरी गर्ने मुख्य मानेको यो समुहका मुख्य व्यक्ति नै पक्राउ गरेपछि उनीसँग रहेका थप तीनजना फरार प्रतिवादीको रुपमा छन् । उनीहरुलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रवक्ता जोशी बताउँछन् ।
नजाम पक्राउ परेपछि विराटनगरमा मोटरसाइकल चोरीका घटना न्यून भएका थिए । तर, अर्को समूहले पछिल्लो एकसातामा चोरीमा रेकर्ड हान्यो । एकसातामै छ मोटरसाइकल चोरी गरेपछि प्रहरीलाई यो समूहको निगारनी बढायो । अन्ततः उनीहरुलाई पक्राउ गरेर बुधबार सार्वजानिक गर्न सफल पनि भयो ।
बुधबार सार्वजानिक गरिएका विराटनगर १७ का १७ बर्षीय मोहम्मद सोयल आलम र सोहि स्थानका २४ बर्षीय नौसाद अन्सारीलाई छ वटा सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको हो । तर, विराटनगरमा मोटरसाइकल चोर्ने मुख्य समूह भनेको नजामसँग यिनीहरुको कनेक्सन भने छैन । प्रवक्ता जोशीले नजामको समूहसँग बुधबार सार्वजानिक भएकाहरुको कनेक्सन नभेटिएको बताए । उनीहरुले चोरी गरेको पाँचवटा मोटरसाइकल र एउटा स्कुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार चैत्र २६ गते विराटनगर–७ अस्पताल चोकबाट कटहरी गाउँपालिका–१ निवासी दुलाचन्द पोदारको प्र.१–०२–०४१ प ०३४० नम्बरको होन्डा सिबी साइन मोटरसाइकल चोरी गर्दागर्दै उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । बारम्बार मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले यो समुहलाई सिसी टिभीबाट निगरानी गरिरहेको थियो । त्यस बाहेक यो समुह खोज्न प्रहरी परिचालन गरिसकेको थियो । दुवै जनालाई एकै पटक नियन्त्रणमा लिएर अनुसन्धानगर्दा नेपाल–भारत सीमा क्षेत्रको दरैया र टिकुलियाबाट थप ५ वटा मोटरसाइकल बरामद गरिएको थियो ।
मोटरसाईकल चोरी गर्ने यो समुहले पनि अस्पताल, होटल, अदालत, मालपोत कार्यालय लगायत भीडभाड हुने स्थानलाई टार्गेट गर्ने गरेको पाइएको छ । विराटनगर लगायत आसपासका गाँउपालिकाबाट चोरी गरिएका मोटरसाइकलहरू सिमावर्ती भारतीय बजारमा लगेर सस्तो मूल्यमा बिक्री गर्ने गर्दै आएका थिए ।
चालु आर्थिक बर्षको साउनदेखी मंसिरसम्म मोरङमा ६० वटा मोटरसाईल चोरीको घटना दर्ता हुन आएको जिल्ला प्रहरीले जनाएको छ । उक्त संख्यामा ४ वटा मोटरसाईकल मात्र बरामद भएको जनाईएको छ । चैत महिनामा मात्र ११ वटा थप मोटरसाईकल चोरी भएको पाईएको छ । फेरी चोरी बढेपछि प्रहरीले सक्रियता बढाएको थियो ।
विशेषगरी सुपर स्प्लेन्डर, होण्डा साइन र डिस्कभर जस्ता मोटरसाइकलहरू बढी चोरी हुने गरेको प्रहरीको तथ्यांकमा देखिन्छ । पछिल्लो समय चोरहरुले नयाँको साटो पुरानो मोटरसाईकलहरुलाई बढी टार्गेट गर्ने गरेको पाईएको छ । लक खोल्न सजिलो हुने भएकाले चोरले पुरानो मोटरसाईकलहरुलाई टार्गेट गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको छ ।
उनीहरुले चोरी गरेका मोटरसाइकल लागुऔषध ओसारपसारदेखि अवैध चोरी निकासीमा समेत प्रयोग हुने गरेको छ । प्रहरी प्रवक्ता जोशीका अनुसार मोटरसाइकल चोरीमा संलग्नहरुले चोरेरै पैसा कमाएका हुन्छन् । उनीहरुको मनोविज्ञान चोरेरै कमाएको पैसाले धरौटी बुझाउन पुग्छ भन्ने हुन्छ । प्रहरीको अनुसन्धान हुँदाताकासम्म हिरासतमा बस्नुपर्ने र अदालत पुगेपछि छुट्ने मनोविज्ञान उनीहरुमा पहिल्यै तयार हुने गरेको प्रवक्ता जोशीको बुझाई छ । अदालतबाट धरौटीमा छुटेपछि उनीहरुले सुध्रने भन्दा पनि केहिबेर रोकिएर पुनः चोरीमा संलग्न हुने गरेका हुन् ।