विराटनगर । सुनसरीको धरानस्थित पाँचकन्या सामुदायिक वनभित्र अर्धनग्न अवस्थामा मृत फेला परेकी महिलाको हत्या अनुसन्धानका लागि प्रहरीले परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिएको छ । गत सोमबार दिउँसो धरान उपमहानगरपालिका–६ स्थित जंगलमा महिलाको शव फेला परेको थियो । मृत महिलाको बिहीबार पहिचान खुलेको थियो ।
उनी धनकुटाको महालक्ष्मी नगरपालिका–२ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी भन्ने खुलेपछि प्रहरीले शुक्रबार बिहान अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले चुनकुमारीको योजनाबद्ध रुपमा हत्या भएको आशंका गर्दै परिवारका सदस्यलाई नियन्त्रणमा लिइएको छ ।
धनकुटा घर भए पनि पछिल्लो २ वर्षयता उनी १३ वर्षीय छोरासँग इटहरीमा डेरा बस्दै आएकी थिइन् । श्रीमान् प्रेमबहादुर वैदेशिक रोजगारीका लागि कोरियामा रहेका बेला उनको यहाँ हत्या भएको छ ।
महिलाको हत्यामा परिवारकै संलग्नता हुनसक्ने देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार चुनकुमारीको पतिसँग सम्बन्ध राम्रो थिएन । घरमा सम्पति सम्बम्धी विवाद थियो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । घटनाबारे सोधपुछका लागि केहीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् । प्रहरीका अनुसार जंगलमा महिलाको हत्यापछि लसुनेको रुखको फेदमा शवलाई अडेस लगाएर छाडिएको अवस्थामा फेला गोठालाले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।