-गीता अर्याल
थला परे पनि
रोगले शरीर
शिथिल भए पनि यो मन
नजिक भन्नेले दु:ख दिएर
साथ नदिए पनि देहले
सिर्जना कहिल्यै मरेन
लेखिरहन मन लाग्यो
बोलिरहन मन लाग्यो
देश दुखेको कथा
समाज भत्केको ब्यथा
बेथितिको राजनीति
सुसंस्कारयुक्त हाम्रो संस्कृति
प्यारो लाग्छ
साहित्य र सिर्जनाका
सभा सम्मेलनहरु
जति अशक्त भएपनि
उर्जा आइहाल्छ साहित्य र सिर्जना भनेपछि
जहाँसुकै पुगिहाल्ने बिनास्वार्थ
नगरेर स्वास्थ्यको ख्याल
साहित्य चाहिँ स्वस्थ हुनुपर्छ भनेर ।
केही गर्ने चाहना
जीवित छ अझै
समाजलाई साहित्यमा
जागरुक बनाउने लक्ष्य
बाँकी छ अझै
शरीरले साथ नदिएपछि
रन्थनिएर बस्नुपर्ने
मनका भाव मनमै राखेर
जीवनका लक्ष्यमा ठूल्ठूला पर्खाल बनेर
लेख्न बाँकी छन्
धेरै कथा ब्यथा र पीडाहरु
बुझ्न बाँकी छन्
जीवनका जिवन्त कथाहरु
यथार्थ बनेर मडारिएका
आकाश नखसोस
भन्ने मात्र त हो नि
हुटिट्याउ कहाँ बन्न सकिने हो र?
सकिन्न रोक्न
पानीको मूलसरी आउने भावलाई
जे होस जसो होस
यो बाँकी जीवन अब समर्पण
नेपाली साहित्यमा।