विराटनगर । पाँचसय रुपैँया प्रतिकेजी राँगा (बफ) को मासुको मूल्य मंगलबारदेखि ५५० बनाउने व्यापारीले घोषणा गरेका छन् । उनीहरुको यो घोषणाले विराटनगर–९ कलेज रोडस्थित फेन्टास्टिक मःम का सञ्चालक राजेश मानन्धर अब बफबाट बन्ने परिकारमध्ये मःम बिक्री रोक्ने तयारीमा छन् ।
विराटनगरमा नेपालका विभिन्न स्थानबाट राँगा किनेर ल्याएर खुद्रामा बिक्री गर्ने तीनवटा स्थान छन् । जसमध्ये राजेशले विराटनगर ६ स्थित सरौचियाका नसरुद्दीन कुरैसीको बाटा राँगाको मासु खरिद गर्दै आएका छन् । ‘आजदेखि राँगाको फल मासुको पैसा ५५० बनाउने भन्यो’ राजेश भने–त्यसो भए म पनि व्यापार बन्द गर्छु भने ।
सरौचियासहित रानी र रानीकै हड्तालि हाटमा राँगा काटमार हुन्छ । झण्डै १२ जना व्यापारी यसको कारोबारमा संलग्न छन् । जसमध्ये सबैभन्दा धेरै सरौचियामा सातवटा पसल छन् । अख्तर मासु पसलका सञ्चालक अख्तर कुरैसीका अनुसार अहिले राँगाको मासुको व्यापार पनि घटेको छ । उनका अनुसार इनरुवाबाट राँगा खरिद गरेर ल्याउने गरिएको छ । जसमा धेरै कुरा मिलाउनु पर्ने हुन्छ । उनले हटियामा राँगा खरिद गरेपछि त्यसको भेटनरी बील, हटियाको रसिद र निकासी पूर्जी लिनुपर्ने हुन्छ ।
व्यापारीका पनि आफ्नै दुःख छन् । पहिले छाला बिक्री गर्दा राम्रो पैसा आउँथ्यो । अहिले एउटा भैंसीको छालाको मूल्य एकसय रुपैँया मात्रै रहेको अख्तरले सुनाए । उनका अनुसार सरोचियामा रहेका सात पसलमा सदाबहार राँगाको मासु पाइन्छ । प्रायः सबै पसलले दिनको एउटा राँगा ढाल्छन् । टुक्राएर बजारमा खुद्रा बिक्री गर्दछन् ।
पहिला विराटनगरमा राँगाको मासु राम्रै चलिरहेको थियो । अहिले पनि चलिरहेको छ, उनी भन्छन्–जे गर्छ मासुमा राँगाले गरिरहेको छ । खसीको मासुको मूल्य बृद्धि हुँदा पनि राँगाको मासु ५०० रुपैँया प्रतिकेजी होटलले पाइरहेका छन् । राँगाको मासुमा होटल र खुद्रा बिक्रीमा फरक रेट रहेको उनले सुनाए । होटललाई फलफल मासु दिनुपर्ने भएकोले ५०० तर खुद्रामा मिसमास हुने भएकोले ४५० रुपैँया प्रतिकेजी पर्ने गरेको छ । कुरैसीले व्यवस्थित दर्ता गरेर त्यसको प्रक्रिया पुरापछि राँगा ल्याएर मासु बिक्री गर्न झमेला रहेको सुनाए ।
उनका अनुसार गाउँघरमा भैंसी पालन घट्दो छ । गाउँमा किसानले भैंसी पाल्न छोड्दा राँगाको अभाव पनि बढ्दो छ । त्यसैले अब मूल्य बढाएर दिनुपर्ने किसानको माग पनि छ । त्यसैले राँगाको मासुको मूल्य बढ्नु स्वभाविक भईसकेको उनले सुनाए ।
विराटनगर कलेज रोडस्थित मल्टा खाजा घरका सञ्चालक प्रदिप मानन्धर व्यापारमा पहिले जस्तो रस नभएको सुनाउँछन् । उनका अनुसार धेरै प्रकारका परिकार बन्ने राँगाको मासु कुनै बेला व्यापारका लागि राम्रै लाभ लिने कच्चा बन्थ्यो । अहिले भने खाने पनि कम भए जस्तो उनले महसुश गरिरहेका छन् ।
फल मासु एककेजी ल्याएर मःम बनाउँदा १२ प्लेट मात्रै बन्ने दावी फेन्टास्टिकका राजेश मानन्धरको दावी छ । किमामा अन्य वस्तु मिसाउँदा त्यसको ओर्जिनल स्वाद हराउँछ । त्यसैले राँगाको मासुमा प्याजको मात्रा मिलाउन बाहेक अन्य वस्तु किमामा हाल्न नमिल्ने उनले बताए । ५०० रुपैँयाको एककेजी मासुले १२ प्लेट मःम बनाएर प्रतिप्लेट ९० मा बिक्री गर्दा त्यससँग जोडिएको श्रम, मैदा लगायतका खर्च धान्न नसक्ने स्थिति रहेको उनी सुनाउँछन् । उनले धेरै प्रतिस्पर्धा भएका कारण ट्राफिक चौक आसपासमा अलिकति स्वादमा फरक परे पसल फेर्ने अप्सन ग्राहकलाई हुने सुनाए ।
अर्को कुरा राँगाबाट मःम लगायतमा प्रयोग हुने किमा स्वयम् मासु व्यापारीले बनाएर दिए त्यो सस्तो हुन्छ । तर, मासु किनेर ल्याएर घरमै बनाउँदा त्यसको महंगो पर्ने उनले सुनाए । मासु पसलमा जस्तो पनि प्रयोग हुनसक्ने उनको चिन्ता छ ।
विराटनगरमा मासु पसल यति नै छन् भन्ने यकिन तथ्यांक अहिले पनि महानगरपालिकामा छैन । पशुपंक्षी विकास शाखाका डा.शुभनारायण यादवका अनुसार १५० को हाराहारीमा मासु पसलहरु सञ्चालनमा रहेका छन् । तर, विराटनगरमा राँगा काट्ने भनेर छुट्टै मासु पसल सञ्चालन दर्ता छैनन् । महानगरपालिकाले पहिचान गरे अनुसार १२ वटा यस्ता व्यापारी छन् जसले राँगा ल्याएर मासु बिक्री गर्दछन् । तर, दर्तामा आउनु भन्दा उनीहरु अहिलेसम्म नआएको उनले सुनाए ।
विराटनगरमा बफ मम, छोइला, चटामरी, सेकुवा, खाजा सेट, बारा, भुटन, सुकुटी र अण्डासँग बफको किमा फ्राईका आइटम धेरै चल्ने गरेका छन् । बफको सितनलाई धेरैले रुचाउने भएपनि योसँगै पीउने मदिरापनि सँगै राखे व्यापारमा केहि लाभ हुनसक्ने कतिपय व्यापारीको बुझाई छ ।
खुल्ला सीमाबाट भित्रन्छन् राँगा
व्यापारीले नेपालका हटियामा पुगेर राँगा खरिद गर्ने बताएपनि खुल्ला सीमानाकाबाट राँगाभैसी भित्रने संभावना उतिकै रहेको नकार्दैनन् । त्यसका लागि भुटाहा नाका सबैभन्दा धेरै मलिलो मानिन्छ । प्रहरीसँगको सेटिङमा राती भित्र्ने राँगाभैसी नै हटियामा पुगेर मासु व्यापारीसम्म आउने गरेका छन् । त्यसैले सीमा क्षेत्र नजिकका हटियामा व्यापारी बढी केन्द्रीत हुने गरेका छन् । भारतबाट भित्र्याइएका राँगाभैसी नेपालका भन्दा केहि सस्तो पर्ने गरेको छ । हटियासम्म आईपुगका राँगाभैंसीको भेटनरी बील कटेपछि त्यो आधिकारिक हुने गरेको छ ।
मोरङमा अमाही वरियातीस्थित नोचाबाट नाजिर, सैदय आलम र असद अलीले गाईगोरु भित्र्याउँदै आएका छन् । त्यस बाहेक राँगाभैसी पनि उनीहरुले विभिन्न नाका प्रयोग गरेर भित्र्याउने गरेका छन् ।