प्रेम देवान
विराटनगर । पछिल्लो समय पूर्वी नेपालमा सांगीतिक चेतनाको केन्द्र बन्दै गएको धरानमा बिहीबार साँझ एक भव्य सांगीतिक माहोल छायो । त्यसो त धरानमा पछिल्लो समय एकपछि अर्को गर्दै सांगीतिक साँझहरु भईरहँदा बिहीबार साँझको कार्यक्रमले त झन् महोल फरक र आर्कषित बनाईदियो ।
यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘उनको स्वीटर टिम’ नै धरान आएपछि विशेष स्वागत तथा सम्मान धरानबासीले गर्न पाँउदा सम्पुर्ण टिम उत्साहित बनेका थिए । सिल्भर ईन्टरटेन्मेन्टको व्यवस्थापन तथा आर्ट मान्डु र केन्द्र मोशन पिक्चर्सको विशेष प्रस्तुति तथा दृष्य सि द अनसिन क्रिएटिभ पार्टनरको रुपमा आयोजना गरिएको ‘ऊनको स्विटर’ साँझ कार्यक्रममा हजारौं दर्शकको उल्लेखनीय सहभागिताले रहेको थियो ।
साँझ ५ बजेका लागि निम्ताईएको कार्यक्रममा झन्डै दुई घन्टा पछि सुरु भएको कार्यक्रमलाई काठमाडौँबाट आएका होष्ट महेश लिम्बु र धरानकी नविना मंग्रान्तीले दर्शकलाई हौसाएका थिए । उनको स्वीटरका टिम र विशेषगरी सुजन चापागाईको पर्खाईमा बसेका दर्शकहरुलाई आकर्षक शब्दहरुले लोभ्याउदै कार्यक्रमको अन्तिमसम्म होल्ड गर्न सफल भएका थिए ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, उपमेयर आइन्द्र बिक्रम बेघाले उनको स्वीटरका टिमलाई खदा हालेर स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा प्रमुख कलाकार विपिन कार्की , मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, एलेक्स पारस, निर्देशक नवीन चौहान, गायिका झुमा लिम्बू, सुनिता थेगिम , दिपा सुहाङ तथा काफ्ले गीतका लेखक युवराज काफ्लेले सुरुमा आफ्ना भनाई तथा प्रस्तुती राखेका थिए । विपिनि कार्की र विल्सन विक्रम राईले कार्यक्रममा सहभागीहरु भरपुर मनोरन्जन प्रदान गर्दै वैशाख २६ गतेलाई हरेक हलमा निम्तो समेत दिए ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा प्रस्तुत भएका चर्चित गायक सुजन चापागाईले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई दुई घन्टा बढी झुमाउन सफल भए । उनले आफ्ना लोकप्रिय थुप्रै हिट गीत गाउनाका साथै दर्शकहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रमलाई जीवन्त बनाएका थिए। कार्यक्रमको अन्तिममा प्रस्तुतिमा सबै कलाकारहरु स्टेज चढेर अहिलेको लोकप्रिय गीत ‘धान सुक्यो रापले,फकाउछ काफ्ले जानु की नजानु’ गीतमा सुजन र झुमा लिम्बूसँग गाँउदै नाच्न समेत साथ दिईरहेका थिए भने उता दर्शकहरु पनि मैदानमा समुह समुह बनाई नाचिरहेका थिए ।
स्थानीय युवा तथा संगीतप्रेमीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा ‘उनको स्वीटर टिम’ को आगमनलाई विशेष उत्सवका रूपमा मनाइएको थियो । सांगीतिक प्रस्तुति मात्र नभई कार्यक्रमले धरानको सांगीतिक संस्कृति र सम्भावनालाई समेत उजागर गरेको थियो । यस कार्यक्रमबाट संकलन भएको केही रकम फिल्म प्रवद्र्धनका साथै धरान उपमहानगरपालिकाको श्रम संस्कृति अभियानलाई आर्थिक सहयोग गर्ने समेत आयोजकले जनाएको छ ।