विराटनगर । विराटनगर–२ सोमबारेमा २४ वर्ष अगाडी सानातिना झुपडी थिए । बस्ती, राजबंशी बाहुल्य थियो । पक्की घरको संख्या नगन्य थिए । तीनै झुपडीमध्ये एकमा घरचुवा रक्सी र हाँस–परेवा मासुको परिकार पाइन्थ्यो । यसका सञ्चालक बन्देलाल राजबंशी थिए । उनको दुर्घटनामा परेर २०६८ सालमा दुःखद निधन भयो ।
टाइटेस फ्याक्ट्रीमा काम गर्दागर्दै बन्दभयो । बन्देलालले आफैं केहि गर्ने सोच राखेर घरायसी रक्सीसँगै माछा बिक्री गर्ने होटल खोलेका थिए । तर, राजबंशी–चौधरीहरुको घरमा पालिने हाँस र परेवाको परिकार विराटनगरमा थिएनन् । धेरैले त यसको परिकार पनि खान मिल्छ भनेजस्तो गर्ने समयमा उनले माछाका परिकारसँगै हाँस–परेवाको परिकार थपे ।
हाँस–परेवाको परिकारले धेरैको जिब्रोमा स्वाद भरियो । स्वाद लिनेमा धेरै चाँहि विराटनगर नगरका कर्मचारी भए । उनीहरुकै प्रोत्साहनमा बन्देलाल होटल विराटनगरमा स्थापीत मात्रै भएन २०६५ सालताका औपचारिक दर्ता गरेर होटल बन्दे नाममा खुल्यो । त्यसपछि बन्दे होटलमा हाँस–परेवा, माछाका परिकारसँगै लोकल कुखुरा र खशीका परिकार थपिए । मरमसलायुक्त बन्दे होटलमा बनेका परिकार खानेहरुको संख्या यति हुन थाल्यो की, ५ बजेपछि पसल बन्द गर्नुपर्ने स्थिति आयो ।
बन्देलालका भाई धिरेन्द्र राजबंशी दाजुसँगै थिए । उनले दाजुले सुरु गरेको होटलमा सबै काम गर्ने गर्दथे । २०६८ सालमा उनले आफैं होटल खोले । दाजु–भाईको सँगसँगै होटल चल्ने गर्दथे । जति ग्राहक पुगेपनि यता नभए उता उस्तै परिकारका स्वादमा रमाउन थाले ।
धिरेन्द्रका अनुसार दाजुले सुरु गरेको हाँस–परेवा परिकारका स्वादले धेरैलाई तानिरहेको बेला उनले छोरीको नाममा होटल भूमिका खोलेका थिए । उस्तै सानो झुपडीमा खोलेको होटल अहिले पक्की घरमा चलिरहेको छ । ‘बुबाको निधन भएको १५ दिन बित्दै गर्दा दाजुको पनि निधन भयो, त्यसपछि हामी परिवार विक्षिप्त भयौं’ धिरेन्द्रले भने–भाउजुले दाजुले सुरु गरेको होटललाई अहिलेसम्म धानिरहनु भएको छ । दाजुको नामले चलेको होटल नै अहिले पनि ग्राहकको रोजाईमा पर्दछ ।
बन्दे होटल सञ्चालन गर्दै आएकी माया राजबंशीले कोरोनाकाल अगाडीसम्मको अवस्था अहिले नभएको सुनाइन् । त्यसपछि खस्केको होटलको बिक्री अहिलेसम्म उठ्न सकेको छैन । पहिला आगो बालेर कन्तीमा पकाउनु पर्ने परिकार अहिले ग्यास चुल्होमा पकाउनु पर्ने स्थिति छ । तर, स्वादमा फेरबदल भने छैन । मायाले भनिन्–मेरोमा कुकु चाँहि श्रीमान् हुँदाताकाकै हुनुहुन्छ, उहाँकै हातले बनाएको परिकार अहिलेसम्म चलिरहेको छ ।
श्रीमान्को निधन भएको १७ वर्ष बित्न लागेको छ । यो बीचमा मायाले आफ्नो छोरालाई इन्जिनियर र छोरीलाई स्टाफ नर्स बनाइन् । होटल चलिरहेको घर पुरानै छ । तर, यसमा सिलिङ्ग हालेर केहि आधुनिक बनाइएको छ । त्यस बाहेक आफू बस्ने घर बनाएको सुनाइन् । होटलमा हाँस–परेवाको परिकार पनि खान पाइन्छ भने जस्तो धेरैलाई लाग्थ्यो, त्यसबेलादेखि हालसम्म ग्राहकलाई स्वाद दिन सफल भएको उनले सुनाइन् ।
अहिले पनि बन्देको होटलमा तीनजनाले रोजगारी पाएका छन् । दिउँसोको खाजा खानेदेखि साँझको रमझम लिनेसम्म पुग्ने गरेका छन् । दाजुले सुरु गरेको होटलमा काम गरेर भाई धिरेन्द्रले नयाँ होटल खोल्दा पनि असफल हुनु परेको छैन । अहिले भतिजाहरुले पनि अर्को होटल सँगै खोलेका छन् । सोमबारे आसपासमा यस्ता होटलहरुको संख्या सातवटा पुगेका छन् । उहि परिकार पाउने होटल धेरै खुलेका कारण पनि पहिला जस्तो ग्राहक एकै स्थानमा नभएका होलान् भन्ने मायालाई लाग्छ । भनिन्–हामीले सुरु गरेका हौं तर यसलाई अरुले पनि चलाईरहेका छन् । सबैले चलाउन थालेपछि ग्राहक बाँडिएर पनि नआएका होलान् या त खाने मान्छे नै कम भएका हुन्, यसै भन्न चाँहि सकिरहेको छैन ।
विराटनगरमा खशीको मासु मूल्य प्रतिकेजी ४०० हुँदा ८० रुपैँया प्लेट मासु बिक्री गरिदैं आएको थियो । अहिले एक हजार १०० प्रतिकेजी हुँदा २५० रुपैँया प्लेट मूल्य राखिएको छ । खरिदका आधारमा बिक्रीको मूल्य कायम हुन्छ, भूमिका होटलका सञ्चालक धिरेन्द्रले भने–जो जहाँ गएपनि सोमबारेको हाँस–परेवा, लोकल कुखुरा र खशीको मासुको स्वादलाई सम्झन्छन् ।
तर, पहिला दैनिक दशवटासम्म हाँस, एउटा खशी, २० जोर परेवा, ७ वटा कुखुरा एकै दिन चल्ने गरेकोमा अहिले त्यसको ४० प्रतिशत मात्रै खपत हुने गरेको उनीहरुले सुनाएका छन् ।
विराटनगरलाई चिनाउने परिकार–पर्यटन व्यवसायी श्रेष्ठ
विराटनगरमा धेरै प्रकारका खानाका परिकार बन्छन् । ठूला, मध्यम र साना होटलहरुले बनाउने विभिन्न परिकारमध्ये राजबंशी–चौधरीहरुले बनाउने परिकार विराटनगरका पहिचान बोक्ने खाना भएको पर्यटन व्यवसायी भवेश श्रेष्ठ बताउँछन् । उनका अनुसार राजबंशीहरुले पकाउने हाँस–परेवाको मासु र भुजाचिउरा, पकौडा र भुजा, भक्का–बगीया वा घंङ्गी यहाँको पहिचान दिने खानाका परिकार हुनसक्छन् । विराटनगर आउँदा के चाँहि टिपिकल खानेकुरा हो भनेर कसैले सोध्दा हाँस–परेवाको मासु र भुजाचिउरा वा भक्का–बगीया या त घुङ्गी अथवा आलुचप–पकौडा भन्ने स्थिति चाँहि बनाउन नसकिएको व्यवसायी श्रेष्ठको बुझाई छ । उनले राजबंशीहरुको आदिम बसोबास स्थल रहेकोले विराटनगरमा उनीहरुले बनाउने परिकारलाई पहिचानको खाना बनाउन जरुरी रहेको बताए ।