विराटनगर । मोरङको कानेपोखरीमा आज(सोमबार) दिउँसो कोशी प्रदेशका सांसद चढेको गाडी दुर्घटनामा परेको छ।
कानेपोखरी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम राजमार्गमा दिउँसो करिब २ बजे तिर दुई सवारी साधन एक आपसमा ठोक्किँदा मानवीय क्षति नभए पनि गाडी पुर्णरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
बेलबारीबाट झापा तर्फ गइरहेको बा ५ च ३५३० नम्बरको कार र झापाबाट बेलबारी तर्फ आउँदै गरेको विए ई १४०६ नम्बरको कार एक आपसमा ठोक्किँदा दुबै सवारी साधनमा सामान्य क्षति पुगेको मोरङ प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रनि खगेन्द्र एक्तेनको कमाण्डमा प्रहरी टोली खटिएको थियो।
बा ५ च ३५३० नम्बरको कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्र खड्काले चलाएका थिए। अर्को विए ई १४०६ नम्बरको कारमा झापा दमक–१ निवासी भेसराज श्रेष्ठ चालक थिए। उक्त कारमा नेकपा (एस) समानुपातिक, पाँचथर मैया श्रेष्ठ लावती ,एमाले प्रत्यक्ष निर्वाचित राधाकृष्ण खनाल ,एमाले समानुपातिक सांसद नम्बरलाल धिमाल र नेकपा (एस) समानुपातिक सांसद बिध्या चाम्लिङ रहेका थिए । दुर्घटनामा कसैलाई गम्भीर चोट नलागेको र सामान्य क्षति मात्रै भएको जिल्ला प्रहरी कार्यालय मोरङ्गका डीएसपी वेद प्रकाश जोशीले जानकारी दिए।