सांसद अमरेश सिंहले दिएको अभिव्यक्तिका कारण बैठकमा एकाएक हंगामा, के भएको थियो ?

<span class='c1'>सांसद अमरेश सिंहले दिएको अभिव्यक्तिका कारण बैठकमा</span> <span class='c2'>एकाएक हंगामा, के भएको थियो ?</span>

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले दिएको एक अभिव्यक्तिका कारण आइतबार प्रतिनिधिसभाको बैठकमा एकाएक हंगामा मच्चियो । तल रास्वपाका सांसदहरुको आफ्नै शैलीको विरोध प्रदर्शन जारी थियो । सिंह बिनियोजित बजेटका विषयमा बोल्दै थिए ।

उनले आफ्नो धारणा राख्ने क्रममा नेपालका चार–पाँच जिल्लाबाहेक अन्य सबै जिल्ला कुनै देशमा गाभिदिए हुने अभिव्यक्ति दिएका थिए ।
“भाग्यमानी चार–पाँच जिल्ला नेपालमा राखौँ बाँकी जिल्ला अर्को देशलाई जिम्मा दिऊँ,” उनले बोल्ने क्रममा राखेका थिए, “अमेरिका, चीन, भारत जसलाई जिम्मेवारी दिने हो दिऊँ । बाँकी जिल्लामा बजेट नै जाँदैन भने नेपालमा किन राख्ने ?”

उनले त्यसपछि सहरी विकास मन्त्रालय अन्तरगत बिनियोजित बजेटका सम्बन्धमा धारणा राख्दै थिए ।

त्यसपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नियमापत्ति गर्दै सांसद सिंहका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाएर कारबाहीको माग गरे ।

“नियम २०, २१ र २३ अनुसार मेरो नियमापत्ति हो,” बर्तौलाले आपत्ति जनाउँदै भने, “छलफलमा सहभागी हुनुभएका माननीय सदस्यले आपत्तिजनक विषय यो संसद्मा राख्नुभयो । विनियोजन शीर्षकमा भाग लिनुभएको छ । बाँकी जिल्लालाई अमेरिकालगायतका देशलाई जिम्मा दिऊँ भन्नुभयो । राष्ट्रघाती अभिव्यक्ति हो । यो रेकर्डबाट हटाउनुपर्छ । र, कारबाहीको विषय बनाइनुपर्छ ।”

तर रोकिएनन् अमरेश ।

उनले पनि आपत्ति जनाउँदै भने, “सर्लाहीमा बजेट किन नराखिदिएको ? यो कारबाहीको विषय हो ?”

बर्तौला पनि रोकिएनन् उनले लगातार कारबाहीको माग गर्दै नियमापत्ति जनाइरहे ।

“यो रेकर्डबाट हटाउनुपर्छ । मुलुकको सार्वभौमिकताको विरुद्धमा एउटा सांसदले रोष्ट्रममा उभिएर जे बोल्नुभयो,” उनले भने, “यो कारबाहीको विषय हुनुपर्छ । थप सचेत गराइनुपर्छ । उहाँको अभिव्यक्ति विगतमा पनि राम्रो छैन । समानुपातिक सांसदलाई गाली गलौजको विषय बनाउनुभएको छ । उहाँलाई योभन्दा अघि बढ्न दिइनुहुँदैन । हामी अब सुन्न सक्दैनौँ । उहाँको शब्द हटाएर कारबाहीको विषय बनाइयोस् ।”

बाँकी सांसदहरुले पनि बर्तौलालाई साथ दिएपछि चर्काचर्की भएको थियो ।

अनि सभामुख घिमिरले पनि सिंहले दिएका अभिव्यक्ति हटाउन निर्देशन दिए ।

“आसय जे भए पनि पाँच जिल्लाबाहेक अरु मुलुकलाई दिए हुन्छ भन्नुभएको छ । त्यसैले माननीय सदस्यहरु अरु मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भन्ने कुरा असंसदीय भाषा भयो,” सभामुखले यति धारणा राख्नासाथ सिंह थप आक्रोशित देखिए ।

“समय जम्मा सात मिनेट छ । पार्टीको निर्देशन मान्न तयार छैन । सभामुखलाई एमालेले जे भन्यो त्यही मान्ने ? सभामुख एमालेको होइन संसद्को हो । बजेट पनि नजाने ? बोल्न पनि नपाउने ? बजेट किन गएन मलाई कारण चाहिन्छ,” सिंहले आफ्नो सिटमा उभिएका सत्तापक्षका सांसदप्रति आक्रोश व्यक्त गर्दै भने, “तपाईं जसरी आएको हो म पनि त्यही प्रक्रियाबाट आएको हो । यहाँ तपाईंले देशप्रति गद्धार गर्ने ? ३० वर्षमा देशलाई गद्धार बनाएर डुबाउने ?”

सिंह थप आक्रोशित बनेपछि सांसदहरुले पनि उनीमाथि कारबाही हुनुपर्ने धारणा राखिरहे ।

अनि सभामुख घिमिरेले भने, “वक्ता माननीय सदस्य, यहाँलाई सचेत गराउँछु कि निर्धारित विषयमा अघि भएको रुलिङअनुसार अघि बढ्नूस् ।”

सिंह झन् जंगिए ।

उनले भने, “स्वतन्त्र सांसदलाई मात्रै रुलिङ किन ? सानो र ठूलो सांसद बनाउने ? एउटा रास्वपालाई दुःख दिइरहने ? सरकारको बजेट आफैँ कुम्ल्याउने ? अन्यायका विरुद्धमा लडन् जनताले पठाएका हुन् । हामी गुच्चा खेल्न आएको हो ?”

त्यसपछि सभामुखले भने, “निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईं डायर छाडेर तल जानूस् !”
त्यसपछि सिंहले आफ्ना धारणा नराखी सात मिनेट त्यसै बसेर बिताइदिने चेतावनी दिए ।

“हामीलाई मात्रै रुलिङ गर्ने ? सरकारको बजेट आफैँ कुम्ल्याउने र अन्याय हामी सहदैनौँ,” सिंहले भने, “तपाईंले बोल्न दिनुहुँदैन भने बोल्दिनँ । म यही बस्छु । सबै ज्यादती सहन आएको होइन । हामी राजाको विरुद्ध पनि लडेर आएको हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्