जनकपुर । मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले निर्माण हुने भनिएको प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा रहेको जनकपुरधामस्थित स्वर्गद्वारमा विद्युतिय शवदाह गृह जग्गाको स्थलगत निरिक्षण गरेका छन् । बिहीवार मन्त्रालयका निमित सचिव रामकुमार खंग, खानेपानी महाशाखाका लक्ष्मीप पन्त र सम्झना लामिछानेसहितका टोलीसंगै मन्त्री यादवले जनकपुरधाम वडा नम्बर ४ स्थित गंगासागर पोखरीको डिलमा निर्माण हुन लागेको विद्युतिय शवदाहगृह निर्माण हुने जग्गाको निरिक्षण गरेका हुन । स्वर्गद्वारको पछाडिपट्टि बच्चाहरुलाई संस्कार गर्ने जग्गा मध्येबाट करीब ३ कट्ठामा सो विद्युतिय शवदाह गृह निर्माण गरिने भएको छ । मन्त्री यादवसँगै मन्त्रालयका टोलीलाई स्वर्गद्वारका संरक्षक समेत रहेका पवन सिंघानियाले निर्माणस्थल जग्गाको अवलोकन गराउंदै वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
यो विद्युतिय शवदाह गृह निर्माण भएपछि शमशान मध्ये प्रदेशकै पहिलो गौरवको आयोजनाको रुपमा रहनेछ । यसै आर्थिक वर्षदेखि विद्युतिय शवदाहगृहको निर्माण कार्य संचालन गरिने ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले जानकारी दिएका छन् ।
आर्थिक, सामाजिक विकास र वातावरण संरक्षणका दृष्टिले विद्युतिय शवदाहगृह प्रदेशका राजधानी जनकपुरधामका विकासका लागि एउटा ऐतिहासिक पहलको शुरुवात रहेको भन्दै मन्त्री यादवले उनले स्वर्गद्वार अहिले नै एउटा पर्यटकीय स्थलको रुपमा रहेको छ । विद्युतिय शवदाह गृह निर्माणले बढेको सौन्दर्यकरणले झन पर्यटकीय विकास हुनेछ ।
मन्त्री यादवले मधेश सरकारको यो गौरवको योजना रहेको र यो शवदाह गृह निर्माणले आम जनतालाई आर्थिक र समयको बचतसंगै वातावरणिय हिसाबले पोलुसन रोक्ने काम समेत गर्ने बताए । दुई वर्ष भित्र निर्माण हुने सो विद्युतिय शवदाह गृहको अढाई तल्ले भवन, दुईवटा शवदाह ट्रली बेड, भृन्चुरी स्क्रबर, वेट स्क्रबर धुंवा निस्किने चिम्नी र अस्थिलाई व्यवस्थापन गर्ने सहितका वातावरणीय संरचना निर्माणका लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याएको छ ।
यो शवदाहगृह निर्माणपछि शव दहन गर्ने दाउरा लगायतका सामाग्रीमा १०÷१२ हजार सम्म खर्च पर्ने ठाउंमा बढीमा ३ हजार मात्र खर्च हुने, काठ काटिने रोकंदा जंगल बच्ने र पोलुसन नफैल्ने लगायतका फाईदा हुने निमित सचिव रामकुमार खंगले बताए ।ऊर्जा, सिचाई तथा खानेपानी मन्त्रालयले चालु आर्थिक वर्षमा दर्जनौ शमसान स्थल निर्माण तथा सौन्दर्यकरण गराएका छन् भने आगामी वर्षमा समेत शमशान स्थलको सौन्दर्य र निर्माणका लागि बजेट छुटयाइएको छ ।
विद्युतिय शवदाह गृहनिर्माण भइसकेपछि सम्बन्धित जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गरि कार्यविधि बनाएर स्वर्गद्वार समितिलाई संचालनको जिम्मा दिइने यसअघि जेठ १६ गते सरोकारवालासँगहरुको बैठकमा निर्णय गरिएको थियो ।