काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा यथास्थितीको अन्त्य गरेर नयाँ सम्झौता र समझदारीबाट अगाडि बढ्न आन्दोलन गर्नै पर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित वर्तमान मुलुकको अवस्था र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वदायी भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै आन्दोलनलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ । तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनै पर्छ । आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै हामीले बुझ्नुपर्छ । यस्तै, उनले नेपालमा ठूला ठूला परिवर्तन आन्दोलनबाट नै भएको भन्दै नेपालमा आधारभूत रुपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा भएको बताए ।
उनले भने, ‘२००७, ४६ र ६२, ६३ सालको तीन वटा परिवर्तन आन्दोलनको बलमा नै भएको थियो । चुनावबाट राणा शासनको अन्त्य भएको थिएन्, आन्दोलनबाटै भएको थियो । नेपालमा आधारभूत रुपमा प्रणालीमा नै परिवर्तन गर्ने हो भने आन्दोलन नै प्रथम कुरा हो । आन्दोलनले नै यो व्यवस्था परिवर्तन हुन सक्छ । यो नेताहरुमा समस्या छ तर यो नेताहरुले ल्याएको व्यवस्थामा पनि समस्या छ । यो व्यवस्थाले ल्याएको निर्वाचन प्रणाली भ्रष्ट छ, नेतालाई पैसा खुवाएर मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने र प्रधानमन्त्री भइसकेपछि देशको लागि होईन आफ्नो निर्वाचन क्षेत्रको लागि काम गर्ने व्यवस्था छ ।
भ्रष्ट नेताहरुले जोगिनको लागि अख्तियार र अदालत जस्तो ठाँउमा पनि आफ्नो मान्छे नियुक्त गरेको पनि उनको आरोप छ । उनले भने, ‘भ्रष्टाचार कस्ले गर्छ भन्दा नेताहरुले गर्छ । उनीहरुलाई कारबाही गर्ने संवैधानिक निकाय को हो भन्दा अख्तियार, अदालत हो र बढो सम्मान पूर्वक भन्छु नेताले नियुक्ति गरेका ती मानिसले नेतालाई कारबाही गर्छ कि गर्दैन् होला त, नेतालाई कारबाही गर्ने ठाँउमा नेताले नियुक्ति गरेको मान्छे भएपछि भ्रष्टचारीहरुलाई कसले कारबाही गर्छ । त्यसकारण समस्या व्यवस्थामा छ र यो व्यवस्था नै परिवर्तन गर्नुपर्छ ।