काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिबार बसेकोे बैठकले पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘भ्रष्टाचार विरुद्धको गतिविधिलाई अभियान कै रुपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ । केही समयभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायहरु सबैमा पहिलो चरणमा ज्ञापनपत्र बुझाउने र विस्तृत कार्ययोजना बनाएर भ्रष्टाचार विरोधी गतिविधिलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेका छौ ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक अगामी भदौ दोस्रो हप्ता काठमाडौंमा बस्ने भनेर पनि निर्णय गरेको बताए ।
बैठकले रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचन प्रभावकारी रुपमा अगाडि बढाउन उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पनि उनको भनाई छ ।
उनले भने, ‘आजको बैठकमा विशेष गरि दिपक बोहराको मृत्यु पश्चात उनको ठाँउमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ को उपनिर्वाचनको सन्दर्भमा आज छलफल भएको छ । उम्मेदवारको प्रारम्भिक सूची तयार पारि यो असार मसान्तसम्म केन्द्रमा पठाउनको लागि हामीले जिल्ला कार्य समितिलाई निर्देश गरेका छौ । र उपनिर्वाचनको लागि तयारी थाल्न सबै कमिटिलाई अनुरोध गरेका छौ । यसलाई प्रभावकारी रुपमा अगाडि बढाउनको लागि उपाध्यक्ष ध्रुव बहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन गर्न समिति गठन गरेका छौ ।
यो वर्षको पार्टी महाधिवेशनको वर्ष भएको हुनाले असोजको मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्यका साथ छलफल गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।
यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बैठकमा रुपन्देही जिल्लाको क्षेत्र नं ३ मा प्राइमरी निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेको बताए ।
उनले भने, ‘प्राइमरि निर्वाचन गरेर त्यहा जसले जित्छ उसलाई नै उम्मेदवार बनाउने किनभने राप्रपाले प्राइमरि निर्वाचनलाई अगाडि लिएर जानुपर्छ । प्रजातन्त्रको पूर्ण रुपमा अभ्यास गर्नुपर्छ ।