विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा बुधबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ विराटनगर प्रोफेसनलको आयोजनामा र हिमालय दर्शन कलेज टुरिजम क्लबको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा ६३ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका छन् ।
‘रगत अभावले कसैको ज्यान जान नपरोस’ भन्ने उद्देश्यसहित गरिएको रक्तदान कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारी तथा अन्य लायन्स सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो। लायन्स क्लब अफ विराटनगर प्रोफेसनलका अध्यक्ष राजेश पराजुलीका अनुसार समाजमा रगतको अभावका कारण ज्यान जाने अवस्थालाई रोक्न युवाहरूमा सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा हिमालय दर्शन कलेजका प्रमुख भरत सापकोटा, क्लबका संस्थापक अध्यक्ष डिल्ली प्रसाई, टुरिजम क्लबका संयोजकसहित अन्य शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। रक्तदानको व्यवस्थापन र समन्वय हिमालय दर्शन कलेजले गरेको थियो। कलेज परिसरमै सम्पन्न भएको कार्यक्रममा सहभागीहरूमध्ये अधिकांशले रक्तदान गर्दै यस्तो अभियानले सामाजिक उत्तरदायित्वमा सहभागी हुन प्रेरणा दिएको बताए। कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ विराटनगर प्रोफेसनलकी सचिव अन्जु भुजेलले गरेकी थिइन्। । आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।