विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो ।
साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिने भएको छ । कोशी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले साउन महिना भित्रमा नाम परिवर्तनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको हो । यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयसँग समेत राय मागिएको थियो । दुवै मन्त्रालयले राय पठाइसकेका छन् ।
स्वास्थ्य मन्त्रालयले नाम परिवर्तन गर्नु अगाडी ओएनएम सर्वेक्षणको काम समेत गरिरहेको छ । त्यो सकिने बितिकै नाम परिवर्तनको प्रस्ताव मन्त्रिपरिषदमा लगिने भएको हो । कोशी प्रदेशका १४ जिल्लामा रहेका १६ वटा अस्पताल, १४ जिल्लाका आयुर्वेद उपचार केन्द्र र जिल्ला स्वास्थ्य कार्यालयहरुको नाममा प्रदेश राखिने भएको छ ।