विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्दोलन सम्झिए ।‘ सडक निर्माणका लागि आफ्नै सरकारकाविरुद्ध आन्दोलन गरियो, अनसन पनि बस्यौं,पटक पटक सहमति हुन्छ तर बाटो बन्दैन,’ उनले भने, ‘बाटो हिँड्दा अत्यन्त अप्ठेरो र असहज छ, साइकल, सिटी रिक्सामा मोटरसाइकलमा हिड्नेलाई कति गाह्रो भएको होला ।’उनले सरकार भन्दा ठेकेदार बलियो देखिएको गुनासो गरे । ‘सरकार भन्दा बलिया ठेकेदार हुन् कि के कति कारणले बाटो बनिरहेको छैन,’ उनले भने, ‘यदि बाटो ठेकेदारले बनाएर भने ठेकेदारलाई कालो सूचीमा लिएर गएर नयाँ प्रक्रियाबाट जानु पर्छ भन्दा भएको छैन । किन भइरहेको छैन ?’
सडक निर्माणका लागि प्रदेश सरकारलाई अग्रसरता लिन आग्रह गरे । ‘ संघको काम भनेर प्रदेश पन्छिन मिल्दैन, प्रदेश सरकारले पनि सरकारजस्तो बलियो खुटटा बनाएर अगाडि आउनुपर्छ,’ उनले भने, ‘द्रूत गतिमा यो बाटो बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन गर्यो, म प्रदेशसभा अगाडि आमरण अनशन बस्ने जानकारी गराउँछु ।’अलपत्र सडक राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ । त्यसमध्ये हाटखोलादेखि रामचोकसम्म ६ किलोमिटर काम अतिसुस्त गतिमा छ । अन्य क्षेत्रको काम लगभग पूरा भएको छ ।
२०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्राली काठमाडौंले ठेक्का लिएको यो सडकको काम असारसम्म जम्मा २२ प्रतिशत मात्रै प्रगति छ । पानी पर्दा हिलोका कारण हिँड्न नसकिने यो सडक घाम लाग्दा धुलोका कारण हिँड्न सक्ने अवस्था नरहेको पराजुली बताउँछन् ।
हुलाकी सडकको ६ किलोमिटर खण्डको मुख्य ठेकेदार श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि भए पनि निर्माण क्षेत्रमा मुख्य ठेकेदार देखिएका छैनन् । सुरुमा भुपाल श्रेष्ठले पेटी ठेकेदारको रूपमा काम गरेका थिए । श्रेष्ठ पनि भागेपछि उनको ठाउँमा अभिषेक गिरी आएका छन् ।