विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पुनः लफडाको घटना भएको छ । बिहीबार बिहान मानविकी संकायको परिसरमा सोसल वर्क प्रथम वर्षमा अध्ययनरत विद्यार्थी जमसेद आलममाथि निर्घात कुटपिट गरिएको हो। नेविसंघ इकाइ समितिका अध्यक्ष प्रशान्त यादव, सनिम ठकुरी, बलराम कामतसहित १०–१२ जनाको समूहले क्याम्पस स्ववियु सचिव सुदिक्षा थापामगर र शिक्षकहरुको अगाडि नै आलममाथि हेल्मेट, मुक्का र लात्ती प्रहार गरेको घाईते आलमले बताए ।

बिहान करिब ८ः४२ बजे भएको उक्त आक्रमणमा आलमको आँखा र बायाँ हातको कान्छी औंला भाचिएको आलमको भनाई छ ।


घाइते आलमलाई तत्काल नोवेल अस्पताल विराटनगरमा उपचार गरिएको र उपचारपछि घर फर्काइएको छ । घटनापछि पीडित पक्षले आक्रमणमा संलग्नको विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छ । क्याम्पसमा पटक–पटक विवाद र कुटपिटका घटना हुँदै आएका कारण सम्पुर्ण सामाजिक कार्यका विधार्थीहरुले स्वच्छ वातावरणमा पढाई हुनुपर्ने सुरक्षा व्यवस्था कडाइ गर्न माग गरेका छन् ।