विराटनगर । प्रहरीले मोरङको रङ्गेली नगरपालिका–५ स्थित चाँदनी चोकबाट खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार घर भएका २९ वर्षीय इम्तियाज अन्सारी र ३१ वर्षका नुर हसन छन् । मंगलबार भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरेर उनीहरूको साथबाट १११ ग्राम २७० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
आरोपी इम्तियाजले कम्ब्याट ट्राउजरको अगाडी कम्मरमा पेटिलाइनमा लागुऔषध लुकाएर ल्याएका थिए । नेपालमा बेच्ने उद्देश्यले भारतबाट सो लागुऔषध ल्याएको उनीहरूले प्रहरीलाई बयान दिएका छन् । ब्युरोको टोलीले पक्राउ गरेर उनीहरूलाई इलाका प्रहरी कार्यालय रङ्गेलीमा बुझाएको छ ।